धनगढी । घोडाघोडी नगरपालिकाले समयमा ढुंगा, गिट्टी र बालुवाको रोयल्टी संकलनको ठेक्का लगाई नदीजन्य पदार्थ उत्खनन् गर्ने सहमतीमा घोडाघोडी नगरपालिकाको कार्यालयमा ट्रयाक्टर व्यवसायीले लगाएको तालाबन्दी खुलेको छ ।
घोडाघोडी नगरपालिकाले समयमा ढुंगा, गिट्टी र बालुवाको रोयल्टी संकलनको ठेक्का लगाई नदीजन्य पदार्थ उत्खनन् खुलाउन नसकेपछि घोडाघोडीका नदीबाट ढुंगा, गिट्टी र बालुवा उठाउन नपाएका ट्रयाक्टर व्यवसायी आइतबार बिहान तालाबन्दी गरेका थिए । आर्थिक वर्षको झण्डै सात महिनासम्म नगरपालिकाले रोयल्टी संकलनको ठेक्का लगाई ढुंगा, गिट्टी र बालुवा खुलाउन नसकेपछि मर्कामा परेका ट्रयाक्टर व्यवसायीहरुले आइतबार ट्रयाक्टर सहित आएर नगरपालिका घेराउ समेत गरेका थिए ।
ट्रयाक्टर व्यवसायी कुश तिवारीले नगरपालिकाले ढुंगा, गिट्टी र बालुवाको रोयल्टी नपाउँदा व्यवासयी र मजदुर बेरोजगार भएको बताए । उनले समयमा नदी र खोला खुला नगर्दा नगरपालिकाको राजश्व घाटा हुनुका साथै गरी खाने वर्गलाई समस्या परेको बताए ।
घोडाघोडी नगरपालिकाले पाँच वटा नदी तथा खोलाको वातावरणीय प्रभाव मुल्यांकन तयार गरी माघ ८ गते मात्रै ढुंगा, गिट्टी र बालुवाको रोयल्टी संकलन गर्न ठेक्का आव्हान गरेको छ । तर, नगरप्रमुख खडकबहादुर रावतले नगरपालिकाले आव्हान गरेको ठेक्का प्रक्रिया पुरा भएपछि सहज ढंगले ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न दिने सहमतीमा नगरपालिकामा लगाइएको तालाबन्दी खुलेको बताए ।
उनले यसअघि पनि ठेक्का आव्हान गरिएको भएपनि ठेक्का कबोल गरेको फर्मले सम्झौता नै नगरेपछि दोस्रो पटक ठेक्का आव्हान गर्नुपरेको बताए । उनका अनुसार गत साउनमा पाँच करोड २५ लाख रुपैयाँको न्यूनतम मुल्यांकन गरी नदीजन्य पदार्थको रोयल्टी संकलन गर्न ठेक्का आह्वान गरिएको थियो ।
सुनसरीको एचएम बिल्डर्स प्रालिले छ करोड ४१ लाख ८४ हजार रुपैयाँको बोलपत्र पेश गरेको र सो ठेक्का स्वीकृत गरी आशयको सूचना निकालिसकेपछि एचएम बिल्डर्सले समयमा सम्झौता गर्न नआएकाले सो ठेक्का रद्द गरी अर्को ठेक्का आव्हान गर्नुपरेको नगरप्रमुख रावतले बताए । उनले पुनः ठेक्का आव्हान गरेको मिति अनुसार फागुन मसान्तसम्म खोला–नदी खुल्ने बताए ।
प्रतिक्रिया