ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा स्ववियु निर्वाचनः नेविसंघ पहिलो, अनेरास्ववियु निल

बुधबार ०६, चैत २०८१ १२:२८

धनगढी । कैलालीका नौ वटा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा सार्वजनिक भएको छ । जसमा पाँच वटा क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ भने चार क्याम्पसमा अखिल (क्रान्तिकारी) विजयी भएको छ । एमाले निकट अनेरास्ववियु भने निल भएको छ । 

त्रिविअन्तर्गत कैलालीमा रहेका कलेजमध्ये सबैभन्दा बढी विद्यार्थी रहेको ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघ डेढ दशकपछि विजयी भएको छ । त्यहाँ स्ववियु सभापतिमा नेविसंघका दीपकराज भट्ट निर्वाचित भए । यस्तै, नेविसंघबाट फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, मोहन्याल बहुमुखी क्याम्पसमा झंकर बुढा, रघुनाथ बहुमुखी क्याम्पसमा रञ्जित परियार र बिरेन्द्र बहुमुखी क्याम्पसमा गोपाल खत्री सभापतिमा विजयी भएका छन् । 

यस्तै, अखिल (क्रान्तिकारी)बाट लम्की बहुमुखी क्याम्पसमा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी, खप्तड बहुमुखी क्याम्पसमा सागर चौधरी र राष्ट्रिय कलेजमा सुन्दर गौतम सभापतिमा विजयी भएका छन् । 

चौमाला बहुमुखी क्याम्पसको सभापतिमा भने नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीको बराबर मत आएको छ । निर्वाचन अधिकृत रमेश भट्टका अनुसार दुबै उम्मेदवारले समान १५५ मत ल्याएका छन् । ‘गोलाप्रथा गर्ने वा कार्यकाल बाड्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले नै टुंगो लागिसकेको छैन ।’

प्रतिक्रिया