धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले महोत्सवको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको ‘लम्की महोत्सव २०८१’ का लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई बन्द गर्न भनेको छ ।
‘यही मंसिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।
महोत्सवको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएपछि त्यसको विरोध हुन थालेको छ । सामाजिक सञ्जालमा शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने दायित्व रहेको नगरपालिकाले नै महोत्सव सफल बनाउन स्थानीय बिदा दिएको भन्दै आलोचना भइरहेको छ ।
प्रतिक्रिया