धनगढी । कञ्चनपुरमा श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोट बस्ने ४९ वर्षीय सियाराम रानाको हत्या गरेको आरोपमा उनकी श्रीमती ४३ वर्षीया जनककुमारी राना पक्राउ परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ साढे ७ बजेको समयमा सियारामको ट्वाइलेटमा लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर प्राप्त भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले उक्त जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा टोली खटाइएको जानकारी दिए ।
‘घटनास्थलमा पुग्दा मृतक लडेको भनिएको ठाउँमा नभई केही टाढा ग्यालरीको कुनामा सिरकले छोपी राखिएको अवस्थामा भेटिएका थिए,’ डीएसपी जोशीले भने, ‘ट्वाइलेट र बाथरुम हेर्दा लडेको जस्तो देखिएको थिएन् । मृतकको टाउकोमा काटिएको जस्तो चोटहरु देखिएका थिए । प्रहरी मृत्यु नभएर हत्या भएको हो भन्ने निष्कर्षमा पुगिसकेको थियो ।’
डीएसपी जोशीका अनुसार ठाउँठाउँमा रगत पनि भेटिएपछि उनकी श्रीमती जनककुमारीलाई सोधपुछ गरिएको थियो । ‘सोधपुछका क्रममा जनककुमारीले श्रीमान–श्रीमतीबीच बिहान बिहान झगडा भएको र दिउँसो श्रीमान् सुतेको अवस्थामा इट्टाले टाउकोमा हानी घटना आफूले गरेको भन्दै स्वीकार गरेकी छिन् ।’
उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरिएको डीएसपी जोशीले बताए ।
प्रतिक्रिया