धनगढी । आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय कार्यान्वयनलाई लिएर सुदूरपश्चिमका चिकित्सक पनि आन्दोलनमा उत्रिएका छन् । देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बिहीबार नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले जिल्ला प्रशासन कार्यालय कैलाली घेराउ गरेको थियो ।
आन्दोलनका कार्यक्रमअन्तर्गत आजदेखि ओपिडी सेवा बन्द गरिएको चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डा. खगेन्द्र भट्टले जानकारी दिए । ‘आकस्मिक तथा सघन उपचार सेवाबाहेक ओपिडी सेवा आजदेखि बन्द गरेका छौं,’ डा. भट्टले भने, ‘भर्ना भइसकेका बिरामीको भने उपचार निरन्तर हुने छ ।’
चिकित्सक संघ सुदूरपश्चिमले विज्ञप्ति जारी गर्दै सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, निजी अस्पताल र क्लिनिकलगायत बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान पनि गरेको छ ।
२५ माघमा चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकलाई ४८ हजार (सरकारी आठौं तहसरह) सेवा–सुविधा दिनुपर्ने निर्णय गरेको थियो । तर साढे दुई महिना बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन भएको छैन । सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यावन्यन नभएको भन्दै आवासीय चिकित्सक सडक आन्दोलनमा छन् ।
प्रतिक्रिया