ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

शुक्रबार १२, बैशाख २०८२ ०३:१८

टीकापुर । सुदूरपश्चिमका नौवटै जिल्लामा रेबिजविरुद्धको खोप अभाव भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समयमा उपलब्ध गराउन नसकेका कारण खोप अभाव भएको हो । 

धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मागअनुसार खोप उपलब्ध हुन नसकेको जानकारी दिएको छ । केन्द्रका कोल्डचेन अफिसर ट्विंकल कुँवरले सुदूरपश्चिममा डेढ हप्तादेखि खोप अभाव रहेको बताइन् । 

उनले मागअनुसार उपलब्ध हुन नसकेका कारण समस्या भएको बताइन् । ‘हामीले मन्त्रालयलाई माग फाराम भरेर पठाएका छौं, मन्त्रालयले डेढ हप्ता अझै लाग्ने भनेको छ,’ उनले भनिन्, ‘यो समस्या अझै केही दिन लम्बिने देखिन्छ ।’

उनका अनुसार कैलाली र कञ्चनपुरका प्रादेशिक अस्पताल तथा विभिन्न जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा मासिक ४० हजार बढी डोज (भाइल) खोपको माग हुँदै आएको छ । उनले केही खोप खरिद गरेर काम चलाइएको बताइन् । 

केन्द्रले सेती प्रादेशिक अस्पताल, टीकापुर अस्तपाल, महाकाली अस्पताल र नौ वटै जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा खोप उपलब्ध गराउँदै आएको छ ।
खोपको अभाव हुँदा सर्वसाधारण बिरामीहरु निजी क्लिनिक तथा अस्पतालमा खोप लगाउन बाध्य छन् । 

टीकापुर अस्पतालका खोप प्रमुख मोहनसिंह साउँदले एक हप्तादेखि खोप अभाव भएको बताए । उनले ०८२ को बैशाख ११ गतेसम्म मात्रै १३४ जना बिरामीले खोप लगाएका छन् । 

उनका अनुसार टीकापुर अस्पतालमा मात्रै दैनिक ३५ बढी रेबिजको खोप लगाउन बिरामीहरु आउने गरेका छन । ‘हामीले मासिक तीन सय भाइल माग्ने गरेका छौं, यो आर्थिक वर्षको सुरुदेखि नै मासिक एक सय ३० भाइलसम्म मात्रै आपूर्तिले दिने गरेको छ,’ उनले भने, ‘आपूर्ति नै नहुँदा बिरामीलाई समस्या परेको हो ।’   

कुकुरले मानिसलाई टोकेका खण्डमा अनिवार्य रुपमा लगाउनु पर्ने रेबिजविरुद्धको खोपको चरम अभाव भएपछि सर्वसाधारण बिरामीहरु उपचार नै नपाउने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया