ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा कसरी सुल्झियो माओवादी संसदीय दलकाे विवाद ?

शुक्रबार ०२, जेठ २०८२ ०५:५४

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलभित्र १६ महिनादेखि विवाद थियो । १२ माघ २०८० मा बहुमत सांसदले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई बनाएपछि सुरु भएको विवाद सुल्झाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै फलामको चिउरा चपाएजस्तै भयो । 

प्रचण्डले पटकपटकको लिखित र मौखिक निर्देशन नटेरेका सुदूरपश्चिमका प्रदेश सांसद अन्ततः बिहीबार राति डडेल्धुरा पुगेर संसदीय दलको नेतामा भट्टलाई स्वीकार गर्न बाध्य भए । अध्यक्ष प्रचण्डकै प्रमुख आतिथ्यतामा बसेको संसदीय दलको बैठकले सर्वसम्मत भट्टलाई दल नेता बनाउने निर्णय गरेको हो । उक्त निर्णयसंगै भट्टको दल नेतामा झण्डै १६ महिनापछि कमब्याक भएको छ । 

प्रदेशसभा सदस्य शिवसिंह वलीका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले आआफ्नो धारण राखेका थिए । ‘दल नेता फेर्नका लागि पार्टीको प्रदेश इन्चार्ज फेर्नुपर्ने विषय पनि उठ्यो,’ वलीले भने, ‘तर अध्यक्षज्यूले पार्टीको कुरा पार्टीमै गर्ने र संसदीय दलको कुरा मात्र यहाँ गर्नू भन्नुभयो । आफ्नो निर्देशन मान्नुको कुनै अर्को विकल्प छैन भनेपछि दल नेता परिवर्तन सम्भव भएको हो ।’

धामी पक्षका प्रदेशसभा सदस्य ओमविक्रम भाटले पार्टी केन्द्रको निर्देशन कार्यान्वयन मात्रै गरिएको बताए । ‘सहमति केही पनि भएको होइन । पार्टीको निर्देशन कार्यान्वयन मात्रै गरिएको हो,’ उनले भने । 

बैठकमै सहभागी एक प्रदेशसभा सदस्यका अनुसार धामी पक्षका सांसदले आफूहरू पार्टीको निर्देशन कार्यान्वयन गर्न तयार रहेको तर भट्टले पनि कार्यशैली सुधार गर्नुपर्ने बताएका थिए । ‘पार्टीको निर्देशन कार्यान्वयन गर्न समस्या होइन,’ ती सांसदका अनुसार धामी पक्षका प्रदेशसभा सदस्यले प्रचण्डकै अगाडि भनेका थिए, ‘मुख्य समस्या खगराजको कार्यशैलीमा हो । उहाँले कार्यशैली सुधार्नु भएन भने असारमै फेरि निर्णय उल्ट्याउन पनि सक्छौँ । त्यसका लागि हामीसँग बहुमत पनि छ ।’

बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा बसेको थियो । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङलगायतका नेताहरू पनि सहभागी थिए ।

कसरी सुरु भएको थियो विवाद ?
१२ माघ २०८० मा बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई नेता बनाएका थिए । भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह वली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए । 

दलको नेतामा धामी चयन भएको पाँच महिनापछि २०८१ असारको पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनस्र्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिए । त्यसपछि प्रचण्डले लिखित र मौखिक गरेर पाँचपटक भट्टलाई दल नेता बनाउन निर्देशन दिए । तर, धामी पक्षका पाँच प्रदेशसभा सदस्य दल नेता फेर्न तयार भएनन् । 

२४ वैशाखमा आफ्नै उपस्थितिमा दलको बैठक राखेर दल नेता भट्टलाई बनाउने तयारीमा प्रचण्ड थिए । सुदूरपश्चिमका सबै सांसदलाई काठमाडौं बोलाइएको पनि थियो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्थाका कारण छलफलबिनै उनीहरू घर फर्किएका थिए । 

प्रतिक्रिया