धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफू पटकपटक पक्राउ पर्दा आमाको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएका छन् । उनले आमाको उपचारका क्रममा राजनीति त्याग्नेबारे सोचेको पनि बताएका छन् ।
आमालाई उपचार गर्न गएको प्रसंग उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा यस्तो उल्लेख गरेका हुन् । उनले आमाको अवस्था देख्दा आफूलाई राजनीति नै छाडिदिउँ जस्तो लागेको पनि उनले बताएका छन् ।
‘छोरा, मलाई रिँगटा लागिरहन्छ, उपचार गराउन नेपालगन्ज लान्छौ ?’ भनेर आफ्नो आमाले आग्रह गरेको प्रसंग चौधरीले फेसबुकमा लेखेका छन् ।
अस्पतालमा परीक्षण भइरहँदा आमाले चिकित्सकसँग भावुक हुँदै भनिन्– ‘म बिरामी होइन डा. साप । मेरो छोरा रेशमलाई पुलिसले समातेर जेल पुर्याएको रातदेखि म सुत्न सकेकी छैन । मेरो निर्दोष छोरालाई किन पटक–पटक समातेर जेल लान्छन् हँ ?’
चिकित्सकले आमालाई सान्त्वना दिँदै भने– ‘अब लान्नन् ।’ तर आमाको थकित अनुहार र कमजोर अवस्था देखेर दिनभर मनमा राजनीतिको भविष्यबारे सोचेको चौधरीले बताएका छन् । साँझको खाना खाँदै गर्दा आमालाई ‘राजनीति छोडिदिऊँ आमा ?’ भनेर सोधेको उनले बताएका छन् ।
आमाले केही क्षणको मौनतापछि जवाफ दिइन्– ‘तैँले राजनीति छोडे हामी सबै थारुहरूको बिजोग हुन्छ बा । अब त झन् छोड्नुहुन्न ।’ रेशम चौधरीले आमाले त्यसपछि जुन शब्द बोलेकी थिइन् त्यसलाई आफूले शब्दमा उतार्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।
प्रतिक्रिया