ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेकपा एकीकृत समाजवादीले जनताको आर्थिक रूपान्तरणका लागि अभियान चलाउने

शुक्रबार ०९, जेठ २०८२ ११:५२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जनताको आर्थिक रूपान्तरणका लागि सुशासन, जनजीविका र रोजगारीका मुद्दा स्थापित गर्ने उद्देश्यले राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ । 

पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर वडा, पालिका, जिल्ला र प्रदेश तहमा अभियान सञ्चालन गर्न लागेको हो ।

आर्थिक रूपान्तरणका लागि सुशासन र रोजगारी समाजवादको तयारी भन्ने नारा तय गरिएको अभियानमा वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिसहित पार्टीको तात्कालिक कार्ययोजना र सङ्गठनात्मक विषयमा समीक्षा गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

अभियानमा जनताका अधिकारलाई देशभर सुसूचित गर्दै मुलुकको राजनीतिक चुनौती तथा उनीहरूलाई उत्पादन, प्रविधिका सीपबारे जानकारी गराउने, उद्यमशीलताका कार्यक्रममार्फत देश विकास गर्ने विषय समावेश छन् ।

मुलुकमा विद्यमान आर्थिक सङ्कटको समाधानका लागि राजनीतिलाई सही दिशामा लैजाने अभियानले सहयोग गर्ने जनाइएको छ । यही जेठ दोस्रो सातादेखि सङ्गठन सुदृढीकरण तथा सदस्यता वितरण कार्ययोजनासहित अभियान सञ्चालन गरिने छ ।

उक्त कार्यक्रमअन्तर्गत सम्बन्धित तहका प्रशासनिक क्षेत्रमा भए गरेका भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती, शिक्षा, स्वास्थ्य, सामाजिक विभेदलगायत विषयमा केन्द्रित रहेर छलफल गरिनेछ । स्थानीय वडा, पालिका तथा प्रशासनमा सुधारका लागि पार्टी सङ्गठनले दवाव दिने कार्यक्रम छ ।

समाजवादी अभियानका नीति तथा कार्यक्रम अनुमोदन गरेको पार्टीले मातहतका सबै कमिटीले गरेका कार्यक्रम तथा प्रगतिबारे राजनीतिक गतिविधिका क्रममा जनस्तरबाट आएका सुझावबारे केन्द्रलाई जानकारी गराउनुपर्ने छ ।

प्रतिक्रिया