धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको बताएका छन् । अग्रलेख मल्टिमिडिया प्रालिले आज धनगढीमा गरेको स्वास्थ्य सेवाको अवस्था ः नीति र पहुँचको समीक्षा कार्यक्रममा मन्त्री खड्काले विगतको तुलनामा सुदूरपश्चिमको स्वास्थ्य उपचारको क्षेत्रमा केही सुधार पनि भएको बताए ।
‘बजेटको सीमितताका बीच स्वास्थ्य क्षेत्रमा केही सुधारको प्रयत्न गरिरहेका छौँ, दुर्गममा कसरी चिकित्सक पु¥याउने भनेर लागिपरेका छौँ’ उनले भने, ‘केही सुधार भएको पनि छ । उपचारका लागि भारतको पलिया, लखनउको निर्भरता घटेको छ ।’ उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था घट्नुमा निजि अस्पतालहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
मन्त्री खड्काले उनले प्रोत्साहन भत्ता दिएर भए पनि डाक्टरलाई पठाएर दुर्गमको स्वास्थ्य उपचार सेवा सुधार गर्न खोजिएको बताए । उनले प्रदेशको आन्तरिक आय बढ्न नसकेको र केन्द्रबाट पाउने रकम पनि घट्दै गएकाले स्वास्थ्य क्षेत्रमा चाहेअनुसार काम गर्न नसकेको धारणा राखे ।
अकालमा मृत्यु हुने संख्यामध्ये करिब ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेकाले यसमा संवेदनशील भएर सरकारले स्वास्थ्य सचेतनासम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिने उनले बताए ।
मन्त्री खड्काले ज्येष्ठ नागरिक तथा एकल महिलालाई निशुल्क परीक्षण र उपचार सेवा दिने गरी आगामी वर्ष कार्यक्रम ल्याउन लागिएको जानकारीसमेत दिए । स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार र निजि क्षेत्र मिलेर जानुपर्ने उनको धारणा थियो ।
‘गेटामा सेतीको जनशक्ति प्रयोग गर्न सकिन्छ’
मन्त्री खड्काले सेती प्रादेशिक अस्पताललाई गेटामा गाभ्न प्रदेश सरकारले पहल गरिरहेको बताए । गेटामा तत्काल तीन सय सय्याको अस्पतालसँगै मेडिकल विश्वविद्यालयलाई अगाडि बढाउनु पर्ने उनले बताए ।
‘गेटामा नयाँ डाक्टर भर्ना गर्नुभन्दा सेतीमा थुप्रै डाक्टर हुनुहुन्छ, त्यो जनशक्तिलाई प्रयोग गर्न सकिन्छ’ उनले भने, ‘सेतीलाई गेटामा गाभ्नु पर्यो भनेर लागिपरेका छौँ, सेतीलाई गाभ्नेबारे मन्त्रिपरिषद्बाट निर्णय पनि गरिसकेका छौँ ।’
प्रतिक्रिया