ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
आशाको सञ्चार

धनगढी उपमहानगरमा घरदैलोमै विशेषज्ञ सेवा

आइतबार ०१, असार २०८२ ०८:२९

धनगढी । धनगढी–३ की ७२ वर्षीया गौरा मल्ललाई न्यून रक्तचापले पटकपटक अस्पताल धाउनुपर्ने बाध्यता थियो । अस्पताल जानका लागि यातायातको साधन पनि सजिलै पाउन कठिन थियो । बल्ल बल्ल अटो भेटिएर अस्पतालसम्म पुगे पनि उपचार निकै खर्चिलो थियो । ‘डाक्टर भेट्नलाई पनि पैसा पथ्र्यो,’ उनले भनिन्, ‘औषधि र जाँचको लगाएर महिनामै २÷३ हजार रुपैयाँ खर्च लाग्थ्यो ।’

धनगढी –७ की ४६ वर्षीया कमली बिकलाई तल्लो पेट दुःख्ने समस्याले बारम्बार सताइरहन्छ । उनले कहिले सरकारी अस्पताल त कहिले निजी क्लिनिकमा गएर उपचार गराउने गरेकी थिइन् । पहिले अस्पतालसम्म पुग्नै गाह्रो र अस्पताल पुगेपछि उपचार गराउन निकै महंगो थियो । ‘५÷६ हजार रुपैयाँ नभएर अस्पताल जान नै नसकिने अवस्था थियो,’ उनले भनिन्, ‘पटकपटक यत्तिको खर्च गर्न गाह्रो थियो ।’

धनगढी उपमहानगरपालिकाले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गरेपछि बिक र मल्लको यो समस्या केही हदसम्म अन्त्य भएको छ । उनीहरुले आफ्नै वडामा निःशुल्क रुपमा विशेषज्ञ डाक्टरको परामर्श, केही औषधि र जाँच सेवा पाएका छन् । वडाकै स्वास्थ्य केन्द्रमा वडा क्लिनिक आएको बेला स्वास्थ्य सेवा लिने गरेको मल्लले बताइन् । ‘घर नजिकै छ, हिडेरै पुग्छु,’ मल्लले भनिन्, ‘डाक्टर भेट्न पनि पैसा पर्दैन । केही औषधि निःशुल्क दिन्छन् । केही औषधि लेखेर दिन्छन् । पर्चामा लेखेको औषधि छोरालाई ल्याइदिन भन्छु ।’

वडामा विशेषज्ञ क्लिनिक आउन थालेपछि अस्पताल गएर जाँच गराउनुपर्ने समस्या टरेको बिकले बताइन् । उनले क्लिनिकमा ल्याब जाँच र केही औषधिहरु निःशुल्क पाइने भएको हुँदा उपचारका लागि पहिले जस्तै धेरै खर्च गर्नुपर्ने बाध्यता हटेको बताइन् ।

मल्ल र बिकले जस्तै १९ हजार ११४ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिकले विशेषज्ञ वडा क्लिनिकबाट स्वास्थ्य सेवा लिएका छन् । धनगढी उपमहानगरपालिकाका विशेषज्ञ वडा क्लिनिकका इञ्चार्ज कृष्ण बोहराले सबै उमेर समूहका सेवाग्राहीलाई विशेषज्ञ वडा क्लिनिकबाट सेवा दिए पनि ज्येष्ठ नागरिकलाई विशेष ग्राह्यता दिएर उपचार सेवा दिने गरेको बताए ।

उनका अनुसार वडा क्लिनिकबाट १६ हजार २४४ जना गर्भवती महिलाले सेवा लिएका छन् । गर्भवती महिलामध्ये आठ हजार ६५७ जनाले अल्ट्रासाउण्ड सेवा लिएका छन् । उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिकको लागि छुट्टै गाडी व्यवस्था गरी गाडीमै प्रयोगशाला, अल्ट्रासाउण्ड, इसिजी लगायतका सामाग्री ढुवानी गर्ने व्यवस्था मिलाएको छ । हरेक महिना विशेषज्ञ वडा क्लिनिकको क्यालेण्डर सार्वजनिक गरी प्रत्येक वडामा महिनाको एकपटक सेवा दिने गरेको इञ्चार्ज बोहराले बताए ।

२०७९ को स्थानीय निर्वाचनमा विजयी भएपछि नगरप्रमुख गोपाल हमालले विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्ने निर्णय गरेका थिए । उनले सो निर्णय कार्यान्वयन गर्दै २०७९ साउन १ गतेबाट विशेषज्ञ वडा क्लिनिक सेवा सुरु गरेका थिए । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले सो क्लिनिक उद्घाटन गरेका थिए भने सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अल्ट्रासाउण्ड मसिन सहयोग गरेको थियो ।

सामान्य उपचारका लागि घरको जिन्सी सामान बेचेर ग्रामीण क्षेत्रका नगरवासीले अस्पताल जानुपर्ने बाध्यता हटाउने सोचका साथ नगरप्रमुख हमालले सुरु गरेको विशेषज्ञ वडा क्लिनिकले विपन्न नगरवासीलाई सहज भएको छ । आफ्नै घर नजिकै उपचार सेवा पाउँदा खुसी लागेको गौरा मल्लले बताइन् । 

२०८१ चैत्र मसान्तसम्म कुल एक लाख २७ हजार ८८३ जनाले विशेषज्ञ वडा क्लिनिकबाट उपचार सेवा लिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जनरल फिजिसियन डाक्टरबाट ६५ हजार ५६१ जना, स्त्रीरोग विशेषज्ञबाट २४ हजार ६०९ जना, आँखा उपचार सेवा ३४ हजार ६४३ जनाले लिएको इञ्चार्ज बोहराले बताए । 

वडा क्लिनिकमा सेवा लिनेमध्ये २९ हजार ७५ जना प्रशोगशाला र छ हजार ४१४ जनाले इसिजी सेवा लिएका छन् । सेवा लिन आएका ११ हजार ३४३ जनालाई रेफर गरी अस्पताल पठाइएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

नियमित रुपमा विशेषज्ञ वडा क्लिनिक सञ्चालन हुँदा नियमित स्वास्थ्य जाँच गर्नुपर्ने ज्येष्ठ नागरिक, गर्भवती तथा दीर्घ रोगीलाई उपचारमा सहज भएको इञ्चार्ज बोहराले बताए । उनले आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न असमर्थ नागरिकले पनि घरदैलोमै निःशुल्क विशेषज्ञ उपचार पाइरहेको बताए ।

उपमहानगरपालिकाले विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न मासिक दुई लाख रुपैयाँ विशेषज्ञ डाक्टरको सेवा शुल्कमा खर्च गर्दै आएको छ । इञ्चार्ज बोहराले नेपाल सरकारबाट निःशुल्क वितरण गर्ने भनी तोकिएको औषधिहरु नै विशेषज्ञ वडा क्लिनिकमा वितरण गर्दै आएकोले औषधि खर्च एकीन नरहेको बताए । उनले गेटा आँखा अस्पतालको सहकार्यमा वडा क्लिनिकमा आँखा जाँच सेवा समेत दिँदै आएको बताए ।

वडा क्लिनिक सुरु गरेको वर्ष उपमहानगरपालिकाले हाडजोर्नी र दाँत रोग सम्बन्धी विशेषज्ञ सेवा समेत दिइरहेको थियो । तर, बजेटको अभावले गर्दा सो सेवाहरु दोस्रो वर्षदेखि वडा क्लिनिकमा समावेश नरहेको इञ्चार्ज बोहराले बताए । उनका अनुसार हाडजोर्नी सम्बन्धी सेवा १०९ र दाँत उपचार सेवा दुई हजार ९६१ जनाले लिएका थिए ।

प्रतिक्रिया