धनगढी । पूर्वमन्त्री एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मी बिकले भौतिक पूर्वाधारमात्र विकास नभएको बताएकी छन् । उनले स्वास्थ्य क्षेत्रलाई पनि विकासको मुख्य क्षेत्र बनाइनुपर्ने बताइन् ।
‘भौतिक संरचनामात्र विकास हो कि स्वास्थ्य पनि विकास हो ?’ अग्रलेख मल्टिमिडिया प्रालिले आज धनगढीमा गरेको स्वास्थ्य सेवाको अवस्था ः नीति र पहुँचको समीक्षा कार्यक्रममा उनले भनिन्, ‘स्वास्थ्यलाई ब्रेकआउट गरेर भौतिक पूर्वाधारमात्र विकास हो भन्ने मानसिकता प्रदेश सरकार र नीति निर्माणमा रहेकाहरुको देखिन्छ ।’ उनले जीवनसँग जोडिएको स्वास्थ्यलाई विकासको मुख्य विषय बनाइनु पर्ने धारणा राखिन् ।
प्रदेशमा स्वास्थ्य नीति बने पनि ऐनको रुपमा किन आउन सकेन भनेर उनले प्रश्न गरिन । ग्रामीण भेगका नागरिक शिक्षा, स्वास्थ्यजस्ता अधिकारबाट वञ्चित भइरहेका उल्लेख गर्दै पूर्वमन्त्री बिकले दुर्गममा आपतकालीन अवस्थामा एम्बुलेन्ससमेत नपाउने अवस्था रहेको बताइन् ।
‘हरेक नागरिक शिक्षा, स्वास्थ्यबाट वञ्चित नहोउन् भनेर यी अधिकार संविधानमै व्यवस्था गरिएको छ तर प्रतिफल हेर्ने हो भने शून्य छ’ उनले भनिन् । स्वास्थ्य उपचार सेवासम्बन्धी झण्झटिला कार्यविधि सुधार गर्नुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य उपचार सेवालाई पावर र पहुँचसँग जोड्न नहुने धारणा राखिन् ।
प्रतिक्रिया