धनगढी । प्रायः नैतिकता र विधि–प्रक्रियाको कुरा गर्न रुचाउने गृहमन्त्री रमेश लेखकमाथि नै अहिले नैतिकताको प्रश्न उठिरहेको छ । भिजिट भिसा प्रकरणले मन्त्री लेखकको नैतकतामाथि प्रश्न उठिरहेको हो । गम्भीर आर्थिक अनियमिताको विवादमा मुछिएपछि मन्त्री लेखकमाथि अनुसन्धान गर्नुपर्ने माग भइरहेको छ भने जनस्तरबाटै राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने मागसमेत हुन थालेको छ ।
अहिले गृहमन्त्रीको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि झण्डै एक वर्षअघि रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री रहँदा सहकारी ठगी प्रकरणका विषयमा लेखकले दिएका अभिव्यक्त स्मरण गर्न थालिएको छ । त्यतिबेला संसदमा विपक्षी बेन्चमा रहेको नेपाली कांग्रेसले लामिछानेमाथि अनुसन्धान र कारबाही गर्नुपर्ने माग स्वरमा उठाएको थियो । त्यसरी आवाज उठाउने मध्येमा कांग्रेसका तत्कालीन प्रमुख सचेतक लेखक नै अग्रपंक्तिमा थिए ।
‘उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गर्ने, ठगी गर्ने, दुरुपयोग गर्ने विषयमा उहाँको संलग्नता छ भन्ने कुरा हामीले लगातार उठाएका छौँ’, प्रतिनिधिसभा बैठकमै लेखकले भनेका थिए, ‘यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको विषय कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभो, प्रश्न उठ्यो, राज्यको सक्षम निकायले अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउनुहुन्न । रहनुहुन्न ।’
लेखकले सहकारीको रकम हिनामिना गर्नु भ्रष्टाचार भएको भन्दै लामिछानेमाथि अनुसन्धान र राजीनामाको माग गरेका थिए । अहिले मन्त्री लेखकमाथि पनि यस्तै प्रश्न उठेको छ ।
भिजिट भिसा प्रकरणमा ठुलो आर्थिक लेनदेन हुने गरेको र त्यस काममा गृहमन्त्री लेखकसहित उनको सचिवालयका कर्मचारीहरू समेत जोडिएको आरोप अहिले लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जेठमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई आयोगले नियन्त्रणमा लिएसँगै भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको खुलेको हो ।
त्यसमा गृहमन्त्री लेखकको निजी सचिवालयमा कार्यरत कर्मचारीको संगत र उठबस नियमित रहेको प्रारम्भिक संकेत भेटिएको छ । आयोगको अनुसन्धानमा भट्टराईसँग मन्त्री लेखकका सचिवालयका कर्मचारीहरू बद्री तिवारी, जनक भट्ट, गणेशदत्त ओझा र विमल पौडेलको नियमित सम्पर्क र संवाद हुने गरेको आशंका छ ।
भिजिट भिसाको नाममा मान्छे विदेश पठाएबापत मन्त्रीको नाममा दैनिक ५० लाख आउने गरेको सम्म आरोप छ । सार्वजनिक भएका समाचारअनुसार त प्रधानमन्त्री र गृहमन्त्रीको नाम लिएर नै असुली धन्दा चलिरहेको थियो ।
भिजिट भिसामा खाडी मुलुक र युरोप पठाउन संलग्न गिरोहसँग मिलेको आरोपमा आयोगको अनुसन्धानमा रहेका तीर्थराज भट्टराईसहित पाँच जना अहिले तारिखमा छुटेका छन् । गृह मन्त्रालयले भट्टराई पक्राउ पर्नुअघि नै प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई तानेर उनका ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरेको थियो ।
मानव तस्करमा संलग्न कर्मचारीको रातारात सरुवा गर्नुले पनि गृहमन्त्रीमाथि शंका बढाएको छ । रमाना लिन बाँकी रहेको बेलामा कार्यालयबाट अख्तियारको नियन्त्रणमा परेका थिए भट्टराई । यति मात्र होइन, सचिवालयमा समेत बदनाम पात्र राखेको आरोप मन्त्री लेखकलाई छ । उनको निजी सचिवालयमा बसेर शाखा अधिकृत विमल पौडेल र गणेशदत्त ओझाले प्रहरी सरुवा तथा बढुवाका साथै मन्त्रालयमा कार्यरत सहसचिवदेखि खरिदारसम्मको सरुवा तथा बढुवामा सेटिङ मिलाउने कार्यमा हस्तक्षेप गर्ने गरेको आरोप लागेको छ ।
प्रतिक्रिया