ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राजावादीका कारण अस्थिरता आएको होइन : भुसाल

सोमबार १२, जेठ २०८२ ०८:०१

धनगढी । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा देखिएको अस्थिरताको कारक गणतन्त्रवादी नेताहरु भएको बताएका छन् । एकीकृत समाजवादी कैलालीको विस्तारित बैठकलाई धनगढीमा सम्बोधन गर्दै उनले मुलुकको अन्योलग्रस्त परिस्थिति राजवादीका कारण नआएको टीप्पणी गरे ।

गणतन्त्रवादी नेताहरुका कारण दुर्गा प्रसाइले राज्यमाथि प्रश्न गर्दा परिस्थिति अन्योलग्रस्त बन्ने अवस्था आएको बताए । ‘यो समस्या दुर्गा प्रसाइ वा ज्ञानेन्द्र शाहले सिर्जना गरेका होइनन्, गणतन्त्रवादी नेताले गरेका हुन्, जो गणतन्त्रमा पटकपटक प्रधानमन्त्री भएका छन्’ भुसालले भने, ‘अस्थिरताको कारण राजा होइनन्, दुर्गा प्रसाइ होइनन् यो त रोपिएको बीउ फलेको मात्र हो ।’

गणतन्त्रको अपेक्षामाथि नेताहरुले धोका दिएको र त्यसको मूल्य जनताले चुकाउनु परेको उनले बताए । गणतन्त्र आएपछि बेरोजगारी हटाउने र मुलुक सक्षम बनाउनेतर्फ ध्यान दिनुपर्नेमा कार्यकारी नेतृत्वले त्यतातिर ध्यान नदिँदा अस्थिरता भएको उनले बताए ।

महासचिव भुसालले सत्ताका लागि जे पनि गर्ने प्रवृति नेताहरुमा देखिनुले नेपालको लोकतान्त्रिक प्रणाली पाकिस्तान र बंगलादेशको प्रवृतिमा लैजान खोजिएको टीप्पणी गरे ।

सरकारमा रहेकाहरुले राज्यस्रोतको दोहन गरिरहेको उनले आरोप लगाए । गृहमन्त्री जोडिएको काण्ड त्यसको एउटा उदाहरणमात्र भएको भुसालको भनाइ थियो । उनले मुलुकमा भ्रष्टाचारका काण्डहरु दिनकै भइरहेका बताए । उनले भने, ‘गृहमन्त्री मुछिएको भिजिट भिसाको काण्ड एउटा लक्षणमात्र हो, यस प्रकृतिका काण्ड दिनैजसो भइरहेका छन् । हरेक ठाउँमा भ्रष्टाचार भइरहेको छ ।’
     भुसालले प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक जीवनबाट अलग गर्नुपर्ने मान्छे भएको टीप्पणी गरे । ‘ओलीलाई त कहीँ पुनर्जन्म छ भने सात जन्म अयोग्य हुने गरी सार्वजनिक जीवनबाट विदा गर्नुपर्ने मान्छे हुन्’ उनले भने ।

 

प्रतिक्रिया