ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा लगानी गर्न प्रवासी नेपाली इच्छुक, सरकारसँग भर्चुअल संवाद

बुधबार १४, जेठ २०८२ १२:३९

धनगढी । सुदूरपश्चिम प्रदेशमा लगानी गर्न प्रवासी नेपाली इच्छुक देखिएका छन् । बुधवार सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको ‘नीति तथा कार्यक्रम लगानी तथा विकास सम्मेलन २०८२’ सम्बन्धी भर्चुअल संवाद कार्यक्रममा उनीहरूले लगानीप्रति आफ्नो प्रतिबद्धता जनाएका हुन् ।

प्रदेश सरकारको पहलमा विभिन्न देशमा व्यवसाय सञ्चालन गरिरहेका गैरआवासीय नेपाली ९एनआरएन० सँग गरिएको भर्चुअल छलफलमा सहभागी वक्ताहरूले सुदूरपश्चिममा लगानीमैत्री वातावरण निर्माणको आवश्यकता औँल्याए ।

उनीहरूले प्राथमिकताको रूपमा क्षेत्रीय आवश्यकता पहिचान गरेर त्यहीअनुसार लगानीको ढोका खोल्नुपर्ने सुझाव दिएका छन् ।

संवादमा अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, रसियालगायत मुलुकबाट संलग्न भएका एनआरएनहरूले यदि लगानीको सुनिश्चितता र वातावरण अनुकूल बनाइयो भने ठुलो मात्रामा पुँजी नेपाल भित्रिन सक्ने धारणा राखे ।

मुख्यमन्त्री कमलबहादुर शाहले प्रवासी नेपालीहरूलाई समृद्ध नेपाल निर्माणमा आफ्नो योगदान दिन आग्रह गरेका थिए ।

‘विदेशमा कमाएको पुँजी, सीप र अनुभव अब आफ्नै भूमिमा लगानी गरौँ,’ उनले भने ‘प्रदेश सरकार लगानीमैत्री वातावरण बनाउन पूर्ण रूपमा तयार छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले असोज १ र २ गते लगानी सम्मेलन गर्दै छ । त्यसको तयारीका लागि यही २१ गते प्री सम्मीट हुँदै छ ।

लगानी तथा विकास सम्मेलनले दीर्घकालीन विकास योजनामा निजी क्षेत्र र प्रवासी नेपालीबीच सहकार्यका ढोका खोल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया