धनगढी । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट वक्तव्य प्रस्तुत गरे । बजेटमा सुदूरपश्चिमका अधिकांश पुराना योजना परेका छन् भने वर्षाैदेखि अलपत्र योजनाको निर्माण सुरु गर्ने पनि उल्लेख गरिएको छ ।
सरकारले अत्तरिया–खोड्पे–दार्चुला सडकलाई डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने भएको छ । सो सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी आगामी वर्षबाट स्तरोन्नति सुरु गरिने अर्थमन्त्री पौडेलले बताए । ३१५ किलोमिटरको सो सडक अहिले सिंगल लेनको छ । साँघुरो सडक भएको हुँदा दार्चुलाको यात्रा निकै खतरापूर्ण छ ।
यसैरगी, महाकाली करिडारको ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति र तुसारपानी–टिंकर खण्डको ट्रयाक खोलिने अर्थमन्त्री पौडेलले बताए । उनले पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकी–अत्तरिया खण्ड आगामी वर्ष स्तरोन्नति सुरु गरिने बताए । अर्थमन्त्री पौडेलले खुटिया–दीपायल द्रुतमार्ग स्तरोन्नति गर्न पनि बजेट विनियोजन गरेको बताए ।
नेपाल सरकारले कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र लगानी बोर्डमार्फत् निर्माण गर्ने जनाएको छ । सो औद्योगिक क्षेत्र प्रधानमन्त्री केपी शर्माओलीले चार वर्षअघि शिलान्यास गरेका थिए । तर, निर्माण सुरु भएको छैन । औद्योगिक क्षेत्र निर्माणको लागि रुख कटान र जग्गा प्राप्तिका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले माग गरेको भए पनि अनुमति पाएको छैन ।
यसैगरी, कञ्चनपुरमा सुख्खा बन्दरगाहा निर्माण सुरु गरिने अर्थमन्त्री पौडेलले बताए । त्यहाँ रुख कटानको काम सुरु भइसकेको छ । यस्तै डडेल्धुरामा विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन गर्ने योजना पनि बजेटमा छ ।
सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटन पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए । उनले आगामी आर्थिक वर्षमा रामारोशन, बडीमालिका र बुढीनन्दा पर्यापर्यटन पदमार्ग निर्माण सुरु गरिने बताए । कर्णाली नदीमा ¥याफटिङ सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने अर्थमन्त्री पौडेलले बताए ।
सरकारले आगामी वर्ष बझाङको मष्टा र साइपाल गाउँपालिकामा पर्ने २१० मेगावाटको चैनपुर सेती आयोजना निर्माण सुरु गर्ने जनाएको छ । अर्थमन्त्री पौडेलले कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन इञ्जिनियरिङ डिजाइन सम्पन्न गरी लगानीको ढाँचा यकीन गरिने बताए । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर तयार गरी निर्माण कार्य अघि बढाउन अग्रसरता लिइने बजेटमा उल्लेख छ ।
सरकारले कैलालीको दोदोधारादेखि भारतको बरेलीसम्म ४०० केभी अन्तरदेशीय विद्युत प्रशासरणलाईन निर्माण गर्ने भएको छ । यसैगरी, दार्चुलाको चमेलयादेखि भारतको जौलजीबीसम्म २२० केभी अन्तरदेशीय प्रशारणलाई अध्ययन गरी निर्माण सुरु गर्ने योजना पनि बजेटमा छ ।
यसैगरी, आयोजना निर्माण भई उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा खपत हुन थालेको दुई वर्षपछि नेपाल सरकारले रानीजमरा जमरा कुलरिया सिंचाई आयोजनाको जलविद्युतको आय सञ्चित कोषमा राख्ने भएको छ । २०८० माघ १६ गतेबाट उत्पादन सुरु गरेको आयोजनाले विद्युत खरिद बिक्री सम्झौताको टुंगो नलागेपछि उधारोमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आएको छ । आयोजनाले दैनिक ४.७१ मेगावाट जलविद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा पठाएको छ । यस्तै उक्त सिँचाइ आयोजनाको काम तीन वर्षभित्र सम्पन्न गर्ने बजेटमा उल्लेख छ ।
गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आगामी वर्ष सञ्चालन गरिने पनि अर्थमन्त्री पौडेलले बताए । उनले डडेल्धुरा मेडिकलको भौतिक संरचना निर्माण गरिने जनाए ।
अर्थमन्त्री पौडेलले कर्णाली र महाकाली नदीमा नदी नियन्त्रण गर्न समेत आवश्यक बजेट विनियोजन गरिएको बताए । सुदूरपश्चिम प्रदेशका यी आयोजनाहरु संघीय बजेटमा समेटिएको भएपनि कति बजेट विनियोजन गरिएको भन्ने कुरा अर्थमन्त्री पौडेलले उल्लेख गरेका छैनन् ।
उनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मुल्यका कृषि बाली खेती गरिने पनि बताए । त्यसका लागि ८३ करोड विनियोजन गरिएको जनाए ।
प्रतिक्रिया