ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
आशाको सञ्चार

बेसहारा वृद्धवृद्धाको सहारा बन्दै महाकाली नगरपालिका

शनिबार १७, जेठ २०८२ ०३:१६

धनगढी । वृद्धावस्थामा सहारा नहुँदा वृद्धवृद्धाहरु अलपत्र परेका र आश्रममा सहारा लिन बाध्य बनेका घटनाहरु गाउँसमाजमा थुप्रै भेटिन्छन् । जीवनको अन्तिम अवस्था वृद्धावस्थामा हेरचाह र स्याहारसुसारको बढी खाँचो हुन्छ ।

छोराछोरी र संरक्षक नहुँदा वृद्धावस्थामा कतिपय कष्टकर जीवन बिताउन बाध्य छन् । सरकारी स्तरबाट पनि त्यस्ता व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिनेबाहेक अन्य स्याहार र संरक्षणका काम हुन सकेका छैनन् । वृद्धावस्थामा बेसाहाराका लागि स्याहार केन्द्र र आश्रय स्थलहरु खुल्न सकेका छैनन् ।

सरकारी स्तरबाट बेसहारा वृद्धवृद्धा लक्षित योजनाहरु आउन नसके पनि दार्चुलाको महाकाली नगरपालिकाले भने वेसहारा वृद्धवृद्धाको सहाराको भूमिका निर्वाह गरिरहेको छ । नगरपालिकाले बेसहाराको संरक्षण गरेर स्थानीय सरकारको अभिभावकीय भूमिका निर्वाह गरिरहेको हो ।

महाकालीले आर्थिक वर्ष २०७७/०७८ सालदेखि बेसहारा आमा–बुवाको सहारा नगर प्रमुख कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमअन्तर्गत सहाराविहीन ६० वर्ष उमेर माथिका व्यक्तिलाई नगरपालिकाले विभिन्न प्रकारका सहयोग गर्दै आएको छ ।

नगरपालिकाले ६० वर्ष उमेर पुरा भएका र छोराछोरी तथा संरक्षक नभएका वृद्धवृद्धालाई प्रत्येक महिना प्रतिव्यक्ति १५ किलो चामल, दुई किलो दाल, दुई किलो नुन, दुई लिटर तेल, चार वटा नुहाउने साबुन र कपडा धुने साबुन उपलब्ध गराउँदै आएको थियो । यसका लागि महाकाली नगरपालिकाले वार्षिक ६० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ ।

यो कार्यक्रमअन्तर्गत हालसम्म एक सय ८२ जना लाभान्वित भएका छन् । बेसाहारा वृद्धवृद्धाको सहयोगका लागि हालसम्म एक करोड ७५ लाख रुपैयाँ खर्च भएको नगरपालिकाको तथ्यांक छ । नगरपालिकाबाट सहयोग पाएका बेसहारा वृद्धवृद्धा स्थानीय सरकारबाट अभिभावकीय भूमिका निर्वाह भएको भन्दै खुशी छन् ।

नगरपालिकाले यसअघि मासिक रुपमा खाद्यान्नलगायत सहयोग गर्दै आएकोमा हाल भने कार्यक्रमको स्वरुपमा केही परिवर्तन गरेको छ । ६० वर्ष पुगेका बेसहारालाई सहयोगस्वरुप अहिले मासिक भत्ता दिने गरिएको छ । सामग्रीको साटो अहिले मासिक दुई हजार रुपैयाँ दिने गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख नरसिंह चैसिरले नगरपालिकाले सहयोग गर्न थालेपछि बेसहारा वृद्धवृद्धामा मनोबल बढेको आफूले पाएको बताए । बेसहारालाई जीवनयापनमा सहयोग होस भनेर नगरपालिकाले मासिक भत्ता उपलब्ध गराउँदै आएको उनले बताए ।

महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर

पहिले खाद्यान्न वितरण गर्ने गरिएकोमा खाद्यान्न भण्डार गरेर राख्दा कहिलेकाँही बिग्रीने भएकाले नगद दिन थालिएको नगरपालिकाले जनाएको छ । ‘बेसाहारालाई जीवनयापनमा केही सहयोग होस् भनेर यो कार्यक्रम ल्याइएको हो । हामीले हेर्दा यो निकै प्रभावकारी देखिएको छ,’ नगर प्रमुख चैसिर भन्छन्, ‘थोरै पैसा आउने भएकाले नजिकका आफन्तले हेरचाह गर्न खोजेको देखियो ।’

स्वास्थ्य उपचार, खाद्यान्न आदिमा आवश्यकताअनुसार खर्च गर्न सकियोस् भनेर अहिले खाद्यान्नको साटो नगद सहयोग दिन थालिएको उनले बताए । ‘समग्रमा यो सहयोगले उनीहरुको मनोबल बढेको पाएका छौँ’ नगर प्रमुख चैसिरले भने, ‘यो कार्यक्रम बेसहाराका लागि निकै सहयोगी बनेको छ ।’ नगरपालिकाले धर्मशाला पनि निर्माण गरेको छ । 
 

प्रतिक्रिया