धनगढी । दार्चुलामा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । यसअघि तीन जना समातेको प्रहरीले आज थप दुई जना नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ पर्नेमा राजेन्द्र डडाल र आशिष पाल रहेका छन् । पुजा बियर बारका सञ्चालक पाल हत्या घटनामा मुख्य योजनाकार रहेको र डडालले शव व्यवस्थापन गरेको प्रहरीको भनाई छ । पाललाई दुहुँ गाउँपालिकामा रहेको जंगल क्षेत्र तथा डडाललाई नौगाडको होपरिगाडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हबल्दार घर्तीको हत्या आरोपमा मंगलबार नै २० वर्षीया दिपीका फर्सवान, २१ वर्षीया पायल भनिने मानमती आउजी र एक नाबालकलाई पक्राउ गरिएको थियो । घटनामा थप दुई जना संलग्न रहेको प्रहरीले जनाएको छ ।
शवको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरेर अन्तिम संस्कार गरिएको छ । प्रहरी हवल्दार घर्तीको टाउकोमा आठ वटा ठाउँमा धारिलो हतियार प्रहार गरिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।
महाकाली नगरपालिका– ४ बङ्गाबगड रिङगलताल नजिकै बियर बारमा घटना भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बियर बारमा महिलालाई जिस्काएको निहुँमा हवल्दार घर्तीमाथि कुटपिट गर्दा हत्या भएको खुलेको छ ।
प्रतिक्रिया