धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हबल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना प्रहरीले पक्राउ गरेको छ । यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ । तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ पर्ने व्यक्ति राजेन्द्र डडाल हुन् । उनलाई मंगलबार साँझ पक्राउ गरिएको इन्स्पेक्टर भट्टले जानकारी दिए ।
हबल्दार घर्तीको हत्या आरोपमा यसअघि २० वर्षीया दिपीका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरेको थियो ।
थप पक्राउ परेका डडाललाई हत्यापछि शव व्यवस्थापनको भूमिकामा सहयोग गरेको आरोप छ । प्रहरीका अनुसार हत्यामा संलग्नताको आरोप लागेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडू र भाइ मनिष पाल फरार छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बियर बारमा दिपीकालाई जिस्काएको निहुँमा आशिकले प्रहरी हबल्दार घर्तीमाथि कुटपिट गर्दा हत्या भएको खुलेको छ ।
प्रतिक्रिया