कञ्चनपुर । गङ्गादशहरा मेलाका अवसरमा कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । जिल्लाका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
बेलौरी, पुनर्वास र बेल्डाँडीले बिहीबार एक दिन तथा लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा गङ्गादशहरा मेला लाग्ने गर्दछ ।
बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका अनुसार मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट अनि छिमेकी देश भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट यहाँ दर्शनार्थीहरू आउने गरेका छन् ।
बेलौरी नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताए ।
प्रतिक्रिया