धनगढी । पाँच पटक डडेल्धुराबाट संघीय निर्वाचन लडेका कर्णसिंह रावल 'मम्याल बाजे'को निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।
नवदुर्गा गाउँपालिकाको मम्या पुर्खेउली घर भई जिल्ला सदरमुकाम अमरगढी बस्दै आएका रावल ०५६ साल यताका हरेक निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावलले २०४८ सालको संसदीय निर्वाचनमा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सघाएका थिए ।
तर, निर्वाचनपछि देउवाले आफ्नो सरुवा गरिदिएको रावल बताउँथे । ०५४ मा सेवा निवृत्त भएका रावल ०५६ देखि देउवाविरुद्ध चुनाव लड्न लागेका हुन् । ‘म बाँचुञ्जेलसम्म शेरबहादुर देउवासँग चुनाव लडिरहन्छु, उहाँलाई कहिल्यै निर्विरोध जित्न दिन्न,’ ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्तापछि उनले भनेका थिए । ०७९ को चुनावमा रावलले ४४२ मत पाएका थिए ।
प्रतिक्रिया