धनगढी । धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले जन्मजात ओठ र तालु चिरिएको समस्या भएका बालबालिकाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ।
अमेरिकाको स्माइल ट्रेन सहयोगमा सो सेवा शुरु गरेको अस्पतालले जनाएको छ । स्माइल ट्रेनले निसर्ग अस्पताललाई चयन गरेपछि सो सेवा सुरु गरिएको निसर्गका अध्यक्ष तीर्थराज पन्तले बताए । उनले स्माइल ट्रेनको टोलीले अस्पतालको शल्यकक्ष, आईसीयू, पिकीयु लगायत सम्पूर्ण पूर्वाधारको निरीक्षण गरी स्वीकृति दिएको बताए ।
अस्पतालले स्ट्याण्डर्ड सर्जरी सेफ्टी एण्ड क्वालिटी प्रोटोकल अनुरूप सेवा दिने अस्पतालका सर्जन डाक्टर दीपक ठकुराठीले दाबी गरे । यस कार्यक्रममा खटिएका विशेषज्ञहरूमा डा. दीपक थकुराठी क्लेफ्ट सर्जन, डा. हेमन्त ओझा र डा. सुनिल भट्ट क्लेफ्ट एन्थेसिया छन् ।
यस्तै, बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र डा. दीपक पौडेलसहित डेन्टल, स्पिच, न्युट्रिशन, नर्सिङ, साइकोलोजी र सामाजिक सञ्जालसम्बन्धी टोलीले समेत महत्वपूर्ण भूमिका खेलेको निसर्गले जनाएको ।
शल्यक्रिया सम्बन्धी सम्पूर्ण प्रक्रिया (जाँच, भर्ना, अपरेसन र औषधि) निःशुल्क हुने अध्यक्ष पन्तले जनाए । उपचाररत बिरामी र एकजना कुरुवाको लागि निःशुल्कको बस्ने व्यवस्थासँगै आवतजावतको यातायात सुविधा समेत उपलब्ध गराइने उनले बतँए ।
निसर्ग अस्पतालले राजधानी जानु पर्ने बाध्यतालाई अन्त्य गर्दै सुदूरपश्चिम लगायत मध्यपश्चिमका नागरिकले निसर्ग अस्पताल धनगढीमा नै गुणस्तरीय सेवा दिइरहेको अध्यक्ष पन्तले बताए । उनले जेठ २० गतेदेखि सुरु गरेको सो निःशुल्क २ जना बिरामीले सेवा लिएको जानकारी दिए।
प्रतिक्रिया