बैतडी । बैतडीमा रास्वपाका हरिमोहन भण्डारी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । २०२३ साल माघ १५ गते उनी पाटन नगरपालिका भण्डारी गाउँमा जन्मिएका हुन् । भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेका थिए ।
बीएसम्म अध्ययन गरेका भण्डारीले २०५६ मा उनले कांग्रेसको सदस्यता लिएर राजनीतिलाई निरन्तरता दिए । कांग्रेसमा तीन पटक महासमिमि सदस्य भए । यो भन्दा पहिला दुईपटक प्रदेशसभा सदस्य निर्वाचन लडे पनि दुइटै पटक प्रदेशसभा सदस्यमा पराजित भएका थिए । तेस्रोपटकको प्रयासमा एमालेको किल्ला भत्काएर बैतडीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हासिल गरेका छन् ।
भण्डारीले तीन पटकको निर्वाचन फरकफरक पार्टीबाट लडेका थिए । २०७४ सालमा प्रदेशसभामा पहिलो पटक नेपाली कांग्रेसबाट निर्वाचन लडे । सो निर्वाचनमा उनी माओवादी केन्द्रका प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए ।
यस्तै, २०७९ को प्रदेशसभामा दोस्रोपटक कांग्रेसले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचन लडे । ११ हजार १८ मत प्राप्त गरेका उनी एमालेका सुरेन्द्र पालसँग पराजित भएका हुन् ।
यसपटक भने उनले तीनपटक संघीय संसद्मा मन्त्री भएका दामोदर भण्डारी र नेपाल क्रिकेट संघका अध्यक्ष एवं कांग्रेस बैतडी सभापति र पूर्वजिल्ला सभापति एवं नेकपाका नेता परमानन्द भट्टजस्ता चर्चित नेतालाई पराजित गरे ।
कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई नेपाली कांग्रेसले कारबाही गरेको थियो । स्वतन्त्रै बसेका भए पनि भण्डारीले गएको पुस १८ गतेको रास्वपाको बैतडी सम्मेलनमा सदस्यता लिए ।
उनी हाल ललितपुर महानगरपालिका–१८ भैंसेपाटीमा बस्दै आएका छन् । उनका दुई छोरी र श्रीमती छन् । भण्डारी चुनावी सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका सहोदर भाइ हुन् । उनका बुवा लक्ष्मण पञ्चायतकालमा राप्रपाको राजीनितमा सक्रिय थिए । बुवाकै प्रेरणाबाट राप्रपामा आबद्ध हुँदै राजनीतिमा आएको उनी बताउँछन् ।
काठमाण्डौंको टुँडिखेलमा सुदूरपश्चिमको गौरा पर्वलाई मनाउनुपर्छ भनेर पहल गर्नेमध्येका उनी एक हुन् ।
निर्वाचित भइसकेपछि उनले आगामी दिनमा पनि देश र समाजको सेवासँगै मौलाइरहेको भ्रष्टचार नियन्त्रण गर्ने आफ्नो पहिलो प्रतिबद्धता पूरा गर्ने बताए ।
उनले नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९ सय ४० मतले पराजित गरेका हुन् । भण्डारीले २२ हजार १ सय ३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चन्दले १८ हजार १ सय ९४ मत ल्याए ।
प्रतिक्रिया