धनगढी । १९ असारमा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय बैठक बस्यो । त्यसको भोलिपल्ट आर्थात् २० गतेदेखि प्रदेश कमिटीको पूर्ण बैठक सुरु भयो । दुई दिनसम्म चलेको बैठक सुदूरपश्चिम प्रदेश सरकारको भूमिका र प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा केन्द्रित रह्यो ।
प्रदेश कमिटी बैठकमा प्रदेश सरकार र प्रदेश सरकारले ल्याएको बजेटको चर्को आलोचना भएको हो । प्रदेश कमिटीको बैठकमा एमालेका मन्त्रीलाई प्रदेश सरकारबाट फिर्ता बोलाउनुपर्ने माग पनि उठेको छ । ‘एमालेका मन्त्रीको काम प्रभावकारी नदेखिएको कुरा पनि बैठकमा उठेको छ,’ प्रदेश कमिटी बैठकमा सहभागी एक सदस्यले भने, ‘महत्वपूर्ण मन्त्रालय एमालेसंग भए पनि बजेटमा त्यो उपस्थिति देखिएन । अहिले सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्छ भन्ने कुरा पनि आएको छ ।’
प्रदेश सरकारमा एमालेबाट तीन मन्त्री छन् । प्रदेश सरकारको झण्डै आधा बजेट पाएको भौतिक पूर्वाधार विकासमन्त्री एमालेका सुरेन्द्रबहादुर पाल छन् । यस्तै, आन्तरिक मामिलामन्त्री हिरा सार्की र भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री बीरबहादुर थापा रहेका छन् ।
बजेट निर्माणका क्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट एमालेका नौ जिल्ला अध्यक्षलाई पाँच–पाँच करोडका योजना माग भएको चर्चा पनि थियो । ‘प्रदेशसभा सदस्यका योजना राख्दा एमालेका योजना अटाउने सम्भावना नभएपछि एमाले अध्यक्षबाट योजना मागिएको थियो,’ एमाले सुदूरपश्चिमका एक नेताले भने, ‘तर, ती योजना पनि बजेटमा समावेश नभएपछि एमाले सुदूरपश्चिमका पदाधिकारी र सदस्य पनि बजेटमा सकारात्मक नदेखिएका हुन् ।’
प्रदेश सरकारको बजेटमा सुदूरपश्चिममा प्रभाव राख्नसक्ने एमाले नेताहरुका योजनासमेत नअटाएको आक्रोश पनि प्रदेश कमिटी बैठकमा पोखिएको बताइएको छ । ‘सरकारमा एमालेको बलियो उपस्थिति भए पनि बजेटमा त्यो नदेखिएको विषय पनि बैठकमा उठ्यो,’ प्रदेश कमिटीको बैठकमा सहभागी एक नेताकाले भने, ‘सरकारको काम र एमालेको भूमीकाबारे संसदीय दलमा गम्भीर छलफल हुनुपर्छ भन्ने कुरा पनि बैठकमा सहभागीले बताएका थिए ।’
एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले पनि प्रदेश सरकारको काम र एमालेको भूमीकाबारे प्रदेश कमिटी बैठकमा कुरा उठेको स्वीकार गरे । ‘केही सदस्यले प्रदेश सरकारको काम प्रभावकारी भएन भन्ने गुनासो गर्नुभएको छ,’ चन्दले भने, ‘बजेटप्रति पनि आलोचना भएको छ । हामीले संसदीय दलको बैठक बोलाएर छलफल गर्न आग्रह गरेका छौं ।’
एमाले सुदूरपश्चिमले प्रदेश कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न शनिबार दिउँसो पत्रकार सम्मेलन बोलाएको थियो । तर, प्रदेश कमिटी बैठक लम्बिएपछि पत्रकार सम्मेलन हुन सकेन । बैठक एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षता तथा प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतिक्रिया