ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर घटना : घाइतेलाई उपचारका लागि काठमाडौं लगिदै, छानबिन समिति गठन

सोमबार १२, साउन २०८२ ०४:५६

धनगढी । अनेरास्ववियु (क्रान्तिकारी) का उपमहासचिव रामचन्द्र भट्ट र नेता भुवनसिंह बिष्ट बिचको आन्तरिक विवाद व्यक्तिगत रिसिइबी भएको क्रान्तिकारीले निष्कर्ष निकालेको छ । आइतबार माओवादी केन्द्र कञ्चनपुर जिल्ला पार्टी कार्यालयमा छलफल भइरहेका बेला कुटाकुट भएको थियो । सो क्रममा क्रान्तिकारीका सुदूरपश्चिम इन्चार्जसमेत रहेका भट्ट गम्भीर घाइते भएका थिए । 

व्यक्तिगत रिसिइबीका कारण घटना भएको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीका महासचिव रोशन थापामगरका अनुसार साउन १४ गते सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन गर्ने विषयमा प्रदेशका इन्चार्ज समेत रहेका भट्टले पार्टी कार्यालयमा छलफल गरिरहेका बेला बिष्टले भौतिक आक्रमण गरेका हुन् । 

बिष्ट उपमहासचिवमा भट्टसँग पराजित व्यक्ति हुन् । उनलाई पार्टी कमिटीले कारबाही गर्दै पार्टीबाट निष्कासित गरिसकेको छ  । 

घटनाबारे निष्पक्ष छानबिन गर्नका लागि समिति गठन गरिएको महासचिव मगरले बताए । छानबिनका लागि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष इन्दिरा पुरीको संयोजकत्वमा इन्दु केसी र प्रकाश तामाङ सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । घटनाको निष्पक्ष छानबिन गरी सात दिनभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । 

यस्तै, घाइते भट्टलाई उपचारका लागि काठमाडौँ लग्ने तयारी छ । काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा भट्टको उपचार हुने महासचिव थापामगरले बताए । भट्टको टाउकोमा गहिरो चोट लागेका कारण माया मेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया