ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
कैलाली कारागार झडप

मृतकका आफन्त शव उठाउन तयार, यस्तो भयो सहमति

सोमबार २६, साउन २०८२ ०४:४१

धनगढी । कैलाली कारागारमा भएको हिंसात्मक झडपमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव उठान परिवारका सदस्य सहमत भएका छन् । शुक्रबारको आक्रमणका मारिएका चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा राखिएकोमा सोमबार मात्रै मृतकका परिवार शव उठाउन तयार भएका हुन् । 

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले शवको पोष्टमार्टम भइरहेको बताउँदै आजै आफन्तलाई शव बुझाउन लागिएको जानकारी दिए । यसअघि मृतक चौधरीको शव परिवारले बुझन् मानेका थिएनन् । मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । 

मृतक चौधरीका भाई विजयले छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी हमालले प्रतिवद्धता जनाएपछि शव उठाउन लागिएको जानकारी दिए । मृतकका परिवारलाई यसअघि नै प्रदेश सरकारले पाँच लाख सहायता रकम दिने निर्णय गरिसकेको छ । 

मृतक चौधरी लागुऔषध मुद्दामा सात महिनादेखि कैद भुक्तान गरिरहेका थिए । शुक्रबार राति कारागारको  ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले आक्रमण गर्दा ‘बी’ ब्लकमा रहेका चौधरीको मृत्यु भएको थियो । आक्रमणका ४७ जना घाइते भएका थिए । घाइते ४५ जनाको धनगढीमा उपचार भइरहेको छ भने दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ । 

प्रतिक्रिया