धनगढी । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिका– ६ का वडाबासीले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरुले चुनाव बहिष्कार घोषणा सभाको आयोजना गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।
अमरगढी नगरपाकिलाकाले फोहोरमैला व्यवस्थापनको नाममा आफूहरुलाई झुक्याएको भन्दै उनीहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् । फोहरविरुद्ध संघर्ष समितिका अनुसार नगरपालिकाले सुरुमा अमरगढी– ५ भजनपुर नजिक गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो । तर, अहिले आएर सोही क्षेत्रलाई फोहर फाल्न थालिएको संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले जानकारी दिए ।
‘नगरपालिकाले वास्तविक योजना लुकाएर जनतालाई भ्रममा पारेको छ,’ ताम्राकारले भने, ‘यो क्षेत्र फोहोर व्यवस्थापनका लागि उपयुक्त नभएको भन्दै हामीले बारम्बार विरोध र आवाज उठाएका थियौं । तर, हाम्रो मागलाई बेवास्ता गरिएपछि प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेका हौं ।’
भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्र बस्ती नजिकै रहेको तथा त्यहाँ खानेपानीका मुहान, सिँचाइको स्रोत र विद्यालय जाने बाटो रहेका कारण फोहोर व्यवस्थापन केन्द्रका लागि उपयुक्त नभएको स्थानीयको भनाई छ । स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनोट गर्न माग गरेका छन् । उनीहरूले आफ्नो माग सम्बोधन नभए आन्दोलन चर्काउने बताएका छन् ।
डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । उनी डडेल्धुराबाट सात पटक चुनाव जितेर पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । यसपटक भने उनी चुनावी मैदानमा छैनन् ।
प्रतिक्रिया