डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ देवलका गगनसिंह खड्काले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले बुधबार उनलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता प्रदान गरेका हुन्।
वि.सं. २०१२ माघ १५ गते जन्मिएका खड्का १६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका थिए । उनी ५५ वर्षपछि फर्किएका हुन् । गाउँ फर्केपछि स्थानीयवासीले बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबारे जानकारी गराएपछि उनी नागरिकता बनाउन प्रशासन कार्यालय पुगेका थिए ।
यसैगरी स्थायी ठेगाना सोलुखुम्बु भएका एनबी तामाङले पनि आज ७४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । उनी करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन् ।
वि.सं. २०३५ देखि डडेल्धुरा आएका तामाङले विभिन्न कारणले हालसम्म नागरिकता बनाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी वलीले जानकारी दिए ।
प्रतिक्रिया