धनगढी । सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिले निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाल नगरपालिका संघका सुदूरपश्चिम संयोजक बीरेन्द्र भट्ट र जिल्ला समन्वय समिति महासंघ नेपाल सुदूरपश्चिम प्रदेश समितिका संयोजक गगन भण्डारीले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
‘भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति सम्पूर्ण स्थानीय सरकारहरू अत्यन्त दुखित भएका छौं,’ सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा दुःखद निधन भएका सबैप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछौं । शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, सबै घाइतेहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचारको प्रबन्ध गर्न नेपाल सरकारसमक्ष माग गर्दछौं ।’
जेनजीको आन्दोलनमार्फत अभिव्यक्त भ्रष्टाचारको अन्त्य, मुलुकमा सुशासनको प्रत्याभूति तथा युवाहरूको शासन व्यवस्थामा सहभागिता जस्ता जायज मागमा समर्थन रहेको विज्ञप्तिमा भनिएको छ । सोही आन्दोलनको आडमा भएको अवाञ्छित घुसपैठका कारण उत्पन्न अराजक अवस्थाबाट ऐतिहासिक धरोहर र संरचना, महत्वपूर्ण राष्ट्रिय दस्तावेजलगायत सरकारी कार्यालय तथा सम्बद्ध निवासमा भएको आगजनी, तोडफोड तथा जनप्रतिनिधिहरूप्रति गरिएको अमानवीय व्यवहारप्रति खेद व्यक्त गरिएको छ ।
‘सुदूरपश्चिम प्रदेश सरकारका र स्थानीय सरकारका प्रशासनिक भवन र सवारीसाधनमा आगजनी गर्ने, नागरिक तथा जनप्रतिनिधिहरूको निजी सम्पत्ति, उद्योग व्यवसायमा क्षति पुर्याउने, साथै जनप्रतिनिधिहरूलाई राजीनामा दिन ज्ञात र अज्ञात व्यक्ति वा समूहहरूबाट धम्की आउने घटनाहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, स्थानीय सरकारका सम्पत्ति तथा दस्तावेजहरूको सुरक्षा गर्न, सबै नागरिक तथा जनप्रतिनिधिहरूको जिउज्यान, निजी सम्पत्ति तथा उद्योग व्यवसायको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन हार्दिक अनुरोध गर्दछौं ।’
विज्ञप्तिमा सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्बद्र्धन गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह नियमित गर्न सुदुरपश्चिम प्रदेशका स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीमा अनुरोध गरिएको छ ।
प्रतिक्रिया