धनगढी । चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुदूरपश्चिम प्रदेशमा पनिसुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आठ र खाद्यमार्फत २८ गरी ३६ वटा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरका अनुसार कैलालीको तीन, कञ्चनपुरको दुई तथा डोटी, डडेल्धुरा र बैतडीको एक–एक स्थानमा ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन भएको छ । ‘कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी तथा डोटीको दीपायल, डडेल्धुराको जिल्ला सदरमुकाम तुफानडाँडा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख कुँवरले भने ।
सुपथ मूल्य पसलका लागि नुनको मूल्य २४ रुपैयाँ तोकिएको कुँवरले बताए । ‘नुन एक व्यक्तिले पाँच किलोसम्म लैजान पाउने छन्,’ उनले भने, ‘चिनीको लागि अधिकत्तम छ किलो कोटा निर्धारण भएको छ । चिनीमा पाँच रुपैयाँ छुट दिने निर्णय भइसकेको छ । तर, केही दिनको बन्दका कारण चिनी भने केही दिनदेखि मात्रै बिक्री सुरु हुने छ ।’ त्यसैगरी चिउरा, आटा, पिठो, मैदा र दालमा प्रतिकिलो सात रुपैयाँ तथा तेलमा पनि प्रति लिटर सात रुपैयाँ छुटको व्यवस्था रहेको कुँवरले बताए ।
आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य बस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडपर्वको अवधिभर यस्ता पसल सञ्चालन हुँदै आएका छन् । खाद्यको प्रादेशिक कार्यालयले माटो र मसिनो चामलसंगै चिनी बिक्रीका लागि २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार खाद्यको सुपथ मूल्य पसलमा हरेक सामाग्रीमा पाँच रुपैयाँ छुटको व्यवस्था रहेको जानकारी दिए ।
खाद्यले कैलालीको धनगढी, डडेल्धुराको खलंगा, बाजुराको मार्तडी, कोल्टी, धुलीचौर, बिच्छ्याँ, पाण्डुसैन, बझाङको जिल्ला सदरमुकाम, दौलिचौर, थलरा, भातेखोला र तलकोट तथा डोटीको जिल्ला सदरमुकाम र मौवामा सुपथ मूल्य पसल सञ्चालन गरिएको प्रादेशिक कार्यालयका प्रमुख थापाले बताए ।
यस्तै, बैतडीको गाठलापानी, पुर्चाैडी हाट, रौलेश्वर, आम्चौर र दोगडाकेदार, दार्चुलाको जिल्ला सदरमुकाम, सुनसेरा, हिकिला र खण्डेश्वरी, कञ्चनपुरको महेन्द्रनगर, अछामको मंगलसेन, सैनाबजार, साँफेबगर र कमलबजारमा सुपथ मूल्य सञ्चालन गरिएको छ ।
प्रतिक्रिया