ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा दुई लाख थान राष्ट्रिय परिचयपत्र जलेर नष्ट

सोमबार ३०, भदौ २०८२ ०५:५५

धनगढी । जेनजी प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय कैलालीमा आगो लगाउँदा सर्वसाधारण नागरिकका करिब दुई लाख थान राष्ट्रिय परिचयपत्र जलेर नष्ट भएका छन् । दुई लाख थान राष्ट्रिय परिचयपत्र र करिब पाँच हजार थान राहदानी जलेर नष्ट भएका प्रशासकिय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

केन्द्रबाट छापिएर आएका वितरण हुन बाँकी राष्ट्रिय परिचयपत्र र राहदानी आगजनीबाट नष्ट भएका हुन् । वडा कार्यालयहरुबाट वितरण गर्नुपर्ने एक लाख ६० हजार थान र जिल्ला प्रशासनबाट वितरण गर्नुपर्ने ४० हजार थान राष्ट्रिय परिचयपत्र जलेका प्रशासनका सूचना अधिकारीसमेत रहेका जोशीले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रका लागि यसअघि वडा कार्यालयहरुबाट पनि नागरिकको विवरण संकलन गरिएको थियो । त्यसरी विवरण संकलन गरेपछि छापिएर आएका राष्ट्रिय परिचयपत्र सम्बन्धित वडा कार्यालयबाटै वितरणका लागि पठाउने प्रशासनको तयारी थियो । 

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेका थिए । आगजनीबाट प्रशासन कार्यालयको पुरानो र नयाँ दुवै भवन जलेका छन् । जलेर पुरै नष्ट भएको पुरानो भवनमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिइदै आएको थियो । प्रशासन नयाँ भवनमा पनि क्षति पुगेको छ ।

आगजनीपछि राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी सेवा बन्द भएको छ । यस सम्बन्धी तथ्यांक र प्रणाली जलेर नस्ट भएको जोशीले बताए । प्रशासनमा रहेका महत्वपूर्ण अभिलेख, कागजात, कम्प्युटर, प्रिन्टरलगायतका सामान पनि जलेर नस्ट भएका उनले बताए । 

प्रशासनले आइतबारबाट नागरिक दिन सुरु गरेको छ । तर राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुरु गर्न भने समय लाग्ने प्रशासनले जनाएको छ । आगजनीपछि विभिन्न निकायले सहयोगस्वरुप दिएका कम्प्युटरबाट प्रशासनले नागरिक सेवा सुचारु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सामाजिक संघसंस्था र नागरिकको सहयोगमा सेवा प्रवाह सुचारु बनाउने प्रयास भइरहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभरि सरकारी कार्यालय, पार्टी कार्यालय र व्यक्तिका घरसमेत गरी एक सय ३७ वटा भवनमा आगजनी भएको प्रारम्भीक विवरण छ ।
 

प्रतिक्रिया