धनगढी । सुदूरपश्चिममा औद्योगिक क्षेत्र खोल्ने योजना अलपत्र परेका छन् । १ चैत २०७२ मा मन्त्रिपरिषद्ले कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि हरेक बजेटमा पनि अटाएको हुन्थ्यो, दैजीमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना । तर, काम भने सुरुवात नै भएको छैन ।
औद्योगिक क्षेत्र बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको पाँच वर्षपछि १० फागुन २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो । शिलान्यासको पनि पाँच वर्ष पुग्नै लागेको छ । तर, औद्योगिक क्षेत्र निर्माणको काम भने सुरु पनि हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा पनि दैजीमा औद्योगिक क्षेत्र बनाउने उल्लेख छ । दैजीमा लगानी बोर्डमार्फत आधुनिक औद्योगिक क्षेत्र स्थापना गरिने बताइएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका योजना तथा विकास विभाग प्रमुख सञ्जयलाल मानन्धरले औद्योगिक क्षेत्र स्थापना हुने भनिएको क्षेत्रमा रहेका रुख कटानको प्रक्रिया अगाडि बढेको बताए । रुख काट्न नम्बरिङ र छपानको कार्य सम्पन्न भएको बताउँदै उनले रुख कटानको अनुमतिका लागि मन्त्रिपरिषद्मा फाइल पठाउने तयारी रहेको जानकारी दिए ।
यता कैलालीको डुडेझाडीलाई औद्योगिक क्षेत्र बनाउने नेपाल सरकारको योजना १५ वर्षदेखि अलपत्र छ । नेपाल सरकारले आयोजना अलपत्र पारेपछि अहिले सुदूरपश्चिम प्रदेश सरकारले सो क्षेत्रलाई प्रादेशिक औद्योगिक क्षेत्र बनाउने योजना अगाडि सारेको छ । प्रदेश सरकारले आर्थिक गतवर्ष २०८१÷८२ देखि डुडेझाडी औद्योगिक क्षेत्र स्थापना तथा सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रम र बजेटमा योजना समावेश गर्दै आएको छ ।
तर, गतआर्थिक वर्ष ०८१÷८२ मा विस्तृत परियोजना प्रतिवेदन बनाउने भन्दै विनियोजन गरिएको २० लाख रुपैयाँ फ्रिज भएको थियो । चालुआर्थिक वर्ष २०८२÷८३ को प्रदेश सरकारले पनि प्रदेश सरकारले डुडेझाडी औद्योगिक क्षेत्र स्थानपनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
प्रतिक्रिया