धनगढी । कैलालीमा खाद्यले धान खरिद नगरेपछि किसानहरु खरिद केन्द्रबाट फर्किन थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले निर्धारित कोटाअनुसार धान खरिद गर्न कुपन वितरण भइसकेको बताएपछि किसानहरु धान बिक्री नगरी फर्किन थालेका हुन् । आज बिहान मात्रै मोहनपुर खरिद केन्द्रबाट थुप्रै किसान धान बिक्री गर्न नपाएर फर्किएका छन् ।
प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाका अनुसार कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर केन्द्रबाट पठाइएको थियो । ‘साढे २८ हजार क्विन्टल धान खरिद भइसकेको छ,’ थापाले भने, ‘बाँकी साढे छ हजार क्विन्टल धान खरिद गर्नका लागि कुपन वितरण भइसकेको छ । कुपन पाउन बाँकी किसानको धान खरिद गर्न सक्ने अवस्था छैन ।’
धानको कोटा बढाउनका लागि केन्द्रलाई अनुरोध गरिएको थापाले बताए । कार्यालय प्रमुख थापाले कैलालीका छ ठाउँबाट धान खरिद भइरहेको जानकारी दिए । टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुर केन्द्रबाट धान खरिद भइरहेको कार्यालय प्रमुख थापाले बताए । ‘नेपाल सरकारले यसवर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ तोकेको छ,’ थापाले भने, ‘सोही मूल्यमा धान खरिद गरेका छौं ।’
खाद्यले कोटा निकै कम भएपछि किसानहरु फेरि सस्तोमा गल्ला व्यापारीलाई धान बिक्री गर्न बाध्य छन् । समर्थन मूल्यभन्दा एक हजार कममा उनीहरु धान बिक्री गरिरहेका छन् ।
प्रतिक्रिया