निमेन्द्र शाही, बाजुरा । मुलुकका अन्य जिल्लाको तुलनामा पूर्वाधार र सामाजिक विकासका दृष्टिले बाजुरा अहिले पनि पछाडि छ । विकट बाजुरामा पनि २१ फागुनमा हुने निर्वाचनको सरगर्मी भने बढ्दो छ । जिल्लामा सात दल र एक स्वतन्त्र गरी आठ जना उम्मेदवार गाउँगाउँमा प्रचारमा गएका बेला युवाहरू भने रोजगारीका लागि भारत र खाडीमा छन् ।
त्यसैले उम्मेदवारहरु वृद्धवृद्धासंग आशीर्वाद माग्दै मत मागिरहेका छन् । ‘पछिल्ला दिनमा गाउँमा विकासका योजना पनि आउन छाडे, घरधन्दा चलाउन र परिवार पाल्नसमेत कठिन भयो,’ गौमुल गाउँपालिका–१ का दिलीप रोकायाले भने, ‘खाडीमा पसिना बगाएर भए पनि छोराछोरी पाल्नपर्ने बाध्यता छ ।’
बाजुरामा युवाहरुको संख्या यति न्यून छ कि निर्वाचन प्रहरीमा जानका लागि संख्या नै पुगेन । बाजुराका गाउँगाउँमा स्कुल जाने बालबालिका र वृद्धवृद्धा मात्र छन् । अनि तिनीहरूलाई स्याहारसुसार गर्न एक परिवारमा एक महिला मात्र छन् । भएका वृद्धवृद्धा र महिलामा पनि चुनावप्रति वितृष्णा छ । ‘वर्षौंदेखि नेताहरुले हामीलाई झुक्याए, हाम्रो मतमा नेताहरुले मस्ती गरे, समस्या जस्तोको त्यस्तै छ । भारत र खाडी मुलुक नगए जीविकोपार्जन चल्लदैन,’ बडीमालिका नगरपालिका–९ तल्ला बाडाका किरण थापाले भने ।
बडीमालिका नगरपालिका–९ चौराटाका गोरखबहादुर बिष्ट पनि किरण थापाको जस्तै धारणा राख्छन् । पैसा भएका र लेख्न जान्नेहरु अलि राम्रा मुलुक गए पनि अन्य युवाहरु भारत जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । देशमा काम नपाएर युवाहरु धमाधम विदेश गइरहँदा मलामीसमेत पाउन मुस्किल बन्दै गइरहेको उनको भनाइ छ ।
बुढीगंगा नगरपालिका–२ मुसीका रामबहादुर रावत अहिले वैदेशिक रोजगारीमा मलेसियामा छन् । कृषि विषय पढेका उनको सोच जिल्लामै बसेर केही गरौं भन्ने थियो । तर, सोचेजस्तो भएन । मलेसियाबाट उनले भने, ‘म अहिले मलेसियामा बसेर पनि जिल्लाको अवस्था बुझिरहेको छु । अहिले गाउँमा भएका थोरै युवाहरुमा पनि तेरो पार्टी यस्तो मेरो पार्टी उस्तो भनेर गफिनुबोहक केही छैन । गाउँको स्थिति नाजुक छ । भोट हाल्ने मान्छे नै गाउँमा छैनन् ।’
जगन्नाथ गाउँपालिका–५ गोत्रीका प्रकाशबहादुर शाही पनि गाउँको अवस्था देखेर विरक्तिएका छन् । गाउँमा विकास योजना केही नआउने र स्थानीय तहमा पनि जुन पार्टीले जितेको छ तिनकै कार्यकर्ताले मात्र जागिर पाउने गरेको उनको अनुभव छ ।
जिल्लाबाट नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश शाह, नेपाली कांग्रेसबाट जनकराज गिरी, एमालेबाट लालबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाही, नेकपा माओवादीबाट भूपेन्द्र बिक र लोकतान्त्रिक प्रगतिशील पार्टीबाट दीपक डिसी उम्मेदवार छन् । यस्तै, स्वतन्त्र उम्मेदवारका रुपमा उपेन्द्र शाही चुनावी मैदानमा छन् ।
बाजुरामा ८७ हजार ८ सय ६१ जना मतदाता छन् । ७७ वटा मतदानस्थल र एक सय १८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमबहादुर शाहीले बताए ।
प्रतिक्रिया