धनगढी । कैलालीको धनगढीमा साढे ३६ किलो बढी लागूऔषध चरेस बरामद गरिएको छ । बुधबार साँझ धनगढी उपमहानगरपालिका–५ लब्ली चोकबाट ३६ किलो छ सय ६२ ग्रामचरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त चरेस बरामद गरेको जानकारी दिए ।
उनका अनुसार चरेस कारोबारी भने पक्राउ परेका छैनन् । ‘बुधबार साँझ अल्फाबेट नखुलेको १०७२ नम्बरको पल्सर मोटरसाइकल चेकजाँच गर्न खोज्दा चालकसहित पछाडि सवार फरार भएका थिए,’ उनले भने, ‘सेतो रंगको कट्टामा चरेस फालेर उनीहरु फरार भएका हुन् । दुबै जनाको खोजी कार्य भइरहेको छ ।’
प्रतिक्रिया