धनगढी । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई एक नम्बर हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘कम्युनिस्ट पार्टीको एकतापछि यहाँ अर्को पार्टी एक नम्बर हुने कतै कल्पना पनि गर्न सकिदैन,’ उनले भने, ‘हामी एक नम्बर भयौं भयौं । सुदूरपश्चिमबाट उज्यालो छरिन्छ नेपालभरी ।’
राष्ट्रका लागि अगाडि आएको संकटको सामाना गर्नकै लागि नेपाली कम्युनिस्ट पार्टी बनाइएको प्रचण्डले बताए । ‘चुनाव जित्तका लागि होइन,’ उनले भने, ‘राष्ट्रका लागि उत्पन्न संकट सामना गर्नका लागि पार्टी एकता गरेका हौं ।’ प्रचण्डले १५ वटा कम्युनिस्ट घटक एउटै ठाउँमा आएको पहिलोपटक भएको बताएका छन् । कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले १५ कम्युनिस्ट घटक मिलेर नयाँ रेकर्ड कायम गरिएको बताएका हुन् । ‘अझै पनि पुगेको छैन, बृहत वामपन्थी एकता हुनुपर्छ भन्ने हो,’ प्रचण्डले भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ । एमालेभित्रका देशभक्त वामपन्थी नेताहरु यही पार्टीमा आउनुहुन्छ । कम्युनिस्ट मात्रै मिलेर हुँदैन । नेपाली काँग्रेसलाई पनि मोर्चामा ल्याउनुर्छ ।’
नेपाली कम्युनिस्ट पार्टीलाई सबै अट्नसक्ने, सबैको अधिकार र क्षमता प्रयोग हुनसक्ने पार्टी बनाउने प्रचण्डको दाबी थियो । ‘यहाँ कोही माओवादी छैन, कोही समाजवादी छैन,’ उनले भने, ‘एमालेभित्रका देशभक्त नेतालाई चिन्तन गर्न आग्रह गर्दछु । बिना कुनै आग्रह, पूर्वाग्रह नेपाली कम्युनिस्ट पार्टी बनाउने अभियानमा अगाडि आउन अनुरोध छ ।’
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंकित गर्दै सबक सिकाउनुपर्ने बताए । ‘हिजो विगठन गर्ने आज पुर्नस्थापना भन्ने अङकारी दम्भीलाई सबक सिकाउने बेला यही हो,’ उनले भने, ‘अहिले निर्वाचनको विकल्प छैन । नेपाली काँग्रेसले चुनावमा जाने बताइसकेको छ । एमालेले पनि दल दर्ता गरिसकेको छ । अब धाकधम्की दिए पनि कुनै अर्थ छैन ।’
जेन–जी आन्दोलनपछि आफूलाई देश डुबेको जस्तो लागेको बताए । ‘एकातिर ज्ञानेन्द्र फर्किने हल्ला थियो, अर्कोतिर राष्ट्रपतिलाई राजीनामा दिन बाध्य पारिएको भन्ने पनि खबर आयो,’ उनले भने, ‘संविधान र गणतन्त्र खारेज हुने हल्लाको बिचमा सन्त्रासमै शीतलनिवास पुगेका थियौं । हामीलाई गर्भ छ, राष्ट्रपतिलाई सहजीकरण गर्ने काम ग¥यौ । संविधान बचाउन भूमीका खेल्यौ ।’
प्रतिक्रिया