धनगढी । सुदूरपश्चिम प्रदेशमा लागुऔषधको समस्या तीव्रगतिमा फैलिँदै व्यापक सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ।
भारतसँगको खुला सीमा, सीमामा पर्याप्त निगरानीको अभाव र पछिल्ला वर्षमा युवापुस्तामा बढ्दो जोखिमपूर्ण आकर्षणका कारण अवैध पदार्थ सीमा क्षेत्रबाट पहाडी जिल्लासम्म प्रवेश गरिरहेको छ। कैलाली–कञ्चनपुरका नाकाबाट भित्रिने लागुऔषध बझाङ, बाजुरा, दार्चुलासम्म पुगेको तथ्याङ्कले देखाएको छ । यो समस्या अब सीमित क्षेत्रमा मात्र नभई सिंगो प्रदेशको सुरक्षा, समाज र भविष्यसँग गाँसिएको गम्भीर चुनौती बनेको देखाउँछ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका तथ्यांकले पछिल्ला वर्षहरूमा लागुऔषधसम्बन्धी अपराध अत्यन्त तीव्रगतिमा बढेको पुष्टि गर्छ। २०७७–७८ मा ३९२ जनाको पक्राउ र २५४ मुद्दा दर्तासँग सुरु भएको अवस्थाले २०७८–७९ मा ५६३ जनाको गिरफ्तारी र ३५६ मुद्दासम्म उक्लँदै उल्लेख्य वृद्धि देखायो। त्यसपछि २०७९–८० प्रदेशकै सबैभन्दा चुनौतीपूर्ण वर्ष बन्यो। नौवटै जिल्लाबाट ८५६ जना पक्राउ परे, ५३८ मुद्दा दर्ता भए र ४ सय किलोभन्दा बढी हिरोइन बरामद भयो—यो अहिलेसम्मकै सबैभन्दा ठूलो रेकर्ड हो।
२०८१–८२ मा गिरफ्तारी संख्या केही घटेजस्तो देखिए पनि मुद्दा दर्ता ६९३ पुगेको छ, जसले समस्या अझ फराकिलो बन्दै गएको संकेत गर्छ। कात्तिक मसान्तसम्म मात्र कैलालीमा ८९ मुद्दा र १ सय ३० जनाको गिरफ्तारी हुनु, उल्लेख्य मात्रामा चरेस तथा हिरोइन बरामद हुनु, समस्या जरा गाडेर बसेको प्रमाण हो।
लागुऔषध प्रयोगमा ४० वर्षमुनिका युवाहरू बढी देखिनु प्रदेशका लागि अर्को गम्भीर चेतावनी हो। बेरोजगारी, मानसिक तनाव, सामाजिक असुरक्षा, साथीभाइको प्रभाव र सीमामा हुने असुरक्षित गतिविधिका कारण युवापुस्तामा जोखिम झनै बढ्दै गएको विशेषज्ञहरूको भनाइ छ। कमजोर सीमा सुरक्षा, अवैध कारोबारमा संलग्न समूहको प्रविधिमैत्री जालो र समाजमा आवश्यक निगरानी अभावका कारण समस्या बहुआयामिक बन्दै गएको छ।
यिनै चुनौतीका बीच सुदूरपश्चिम प्रदेश युवा परिषद्ले कैलालीबाट प्रदेशस्तरीय लागुऔषध नियन्त्रणका लागि सचेतना अभियान सुरु गरेको छ।
गौरिगङ्गा नगरपालिका–५ स्थित मोहन्याल माध्यमिक विद्यालयबाट शुभारम्भ गरिएको अभियानले सबै जिल्लामा पुगेर स्थानीय अवस्था बुझ्ने, सरोकारवालासँग नीतिगत संवाद गर्ने र विद्यालय–परिवार–समुदाय तहमा चेतना निर्माण गर्ने लक्ष्य लिएको सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदले बताए ।
अभियान उद्घाटन गर्दै सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले लागुऔषध अहिले प्रदेशको सबैभन्दा ठूलो चुनौती बनेको बताइन्। परिवार, विद्यालय र समुदायले समान जिम्मेवारीसहित काम गरे मात्र प्रदेशलाई लागूऔषधमुक्त बनाउने लक्ष्य सम्भव हुने उनको भनाइ थियो। सामाजिक बिकास मन्त्रालयले सचीव डा। हेमराज रेग्मीले यस खालका सचेतता कार्यक्रमको आवश्यकता औल्याए ।
कार्यक्रममा कलाकार राजाराजेन्द्र पोखरेलले विद्यार्थी र अभिभावकलाई मनोरञ्जनात्मक तर प्रभावकारी शैलीमा लागुऔषधका जोखिमबारे जानकारी दिए। प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले समस्या वर्षैपिच्छे बढ्दै गएकाले तीनै तहका सरकारबीच समन्वित रणनीति आवश्यक रहेको औंल्याए। प्रदेश सभा सदस्य तुलसी देवकोटाले दीर्घकालीन योजना र सामूहिक प्रतिबद्धता बिना समस्या समाधान सम्भव नभएको स्पष्ट पारिन्।
गौरिगङ्गा नगरपालिका–५ का वडाध्यक्ष विष्णु भाटले यस अभियानले प्रदेशस्तरमा बढ्दो लागुऔषध समस्या समाधानमा सार्थक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
लागुऔषध नियन्त्रण केवल प्रहरी र प्रशासनको जिम्मेवारीमात्र होइन। यो समाज, परिवार, विद्यालय, स्थानीय नेतृत्व र समुदाय सबैले संयुक्त रूपमा ध्यान दिनुपर्ने विषय हो। वर्षैपिच्छे बढ्दो गिरफ्तारी, बरामद भइरहेका पदार्थको मात्रा, सामाजिक विचलन र युवापुस्तामा परेको प्रभावले अब प्रदेशलाई दीर्घकालीन रणनीति, कडा निगरानी र प्रभावकारी चेतनासँगै अघि बढ्न अनिवार्य बनाएको छ। कैलालीबाट सुरु भएको अभियान प्रभावकारी रूपमा सबै जिल्लामा विस्तार हुन सकेमा सुदूरपश्चिमका युवालाई सुरक्षित र स्वस्थ जीवनतर्फ उन्मुख गर्ने महत्वपूर्ण मोड बन्नसक्छ।
प्रतिक्रिया