ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा सरकारी सम्पत्तिमा आगजनी गर्नेहरुको खुल्दैछ पहिचान, १० जना समातिए

शुक्रबार २६, मङि्सर २०८२ ११:१५

धनगढी । कैलालीमा सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरेको छ । गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र जिल्ला कारागारमा आगजनी तथा तोडफोड गरेको आरोपमा विभिन्न मितिमा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा छ जना र कारागारमा आगजनी तथा तोडफोड गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरुविरुद्ध आपराधिक उपद्रव मुद्दामा कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र जोशीले जानकारी दिए ।

आगजनीमा संलग्नको पहिचान गरी कारबाहीको माग गर्दै सम्बन्धित कार्यालयले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जोशीले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार सिसीटीभि फुटेजका आधारमा आगजनीमा संलग्न १० जनाको पहिचान गरिएको हो ।

जेन–जी आन्दोलन बेला २४ भदौमा कैलालीमा एक सय तीनवटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको जिल्ला प्रशासनको तथ्यांक छ । राजनीतिक दलका पार्टी कार्यालयहरुमा पनि तोडफोड र आगजनी गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले सिसिटीभी फुटेज आदिका आधारमा आन्दोलनका बेला विभिन्न निकायमा आगजनी गर्नेको प्रहरीले पहिचान गरिरहेको बताए । प्रहरी उपरीक्षक चन्दका अनुसार जिल्ला कारागार, अदालत र जिल्ला सरकारी वकिलको कार्यालयले आगजनी गर्नेलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन् । अरु निकायले भने जाहेरी दिएका छैनन् ।

आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरिदा करिब ३० हजार मुद्दाका मिसिल जलेर खरानी भएका थिए भने आगजनीबाट कार्यालयमा पाँच करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको थियो । त्यस्तै आन्दोलनकारी कारागार प्रवेश गरेर तोडफोड गर्नुका साथै कैदीबन्दीलाई बाहिर निकालेका थिए ।

आन्दोलनकारी प्रवेश गरेपछि कैलाली कारागारबाट छ सय ६६ जना कैदीबन्दी निस्किएका थिए । तीमध्ये दुई सय ३१ जना कैदीबन्दी अझै फरार रहेका कैलाली कारागारले जनाएको छ । फरार हुनेहरुमा विभिन्न मुद्दाका १९ जना भारतीय नागरिक छन् । 
 

प्रतिक्रिया