धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको स्वास्थ्यमा समस्या देखिएको छ । अस्वस्थ भएका मुख्यमन्त्री शाह सेती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन् ।
मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मरबहादुर बमले मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रीढको हड्डी र नसा सम्बन्धी समस्या देखिएको छ । ‘हिडडुल गर्नै समस्या भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो,’ बमले भने, ‘स्वास्थ्य अवस्थामा सुधार नआएपछि काठमाडौँमा पनि उपचार गरिएको थियो । थप उपचारका लागि आज मात्रै दिल्ली प्रस्थान गर्नुभएको छ । त्यहाँको म्याक्स अस्पतालमा उपचार हुने छ ।’
सम्पूर्ण उपचार खर्च मुख्यमन्त्री शाहले व्यक्तिगत रुपमा व्यहोर्ने पनि उनको सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाह आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएर दिल्ली प्रस्थान गरेका हुन् ।
प्रतिक्रिया