ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा मेन रोड र वैकल्पिक सडक बन्यो, पुल निर्माणको योजना अन्योलमै

शनिबार २७, मङि्सर २०८२ ०८:१०

धनगढी । धनगढीको मेन रोड निर्माण लगभग सम्पन्न भएको छ भने सडकमा बत्ति समेत लगाइसकिएको छ । फुटपात र लेन छुट्याउने काम मात्रै बाँकी छ । शहीद गेट–क्याम्पस रोड सडक दुई वर्ष पहिले नै निर्माण भई एक वर्ष पहिले नै सडक बत्ति र रोपलाइट जडान गरी झिलिमिली बनाइएको छ ।

तर, यि दुबै सडकमा रहेको ६ वटा पुल निर्माणको लागि योजना अन्योलमै छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मेन रोडमा रहेको तीन वटा खोलामा पुल बनाउनका ४०/४० लाख रुपैयाँका दरले बजेट विनियोजन भए पनि शहीद गेट–क्याम्पस रोड सडकमा तीन वटा खोलामा पुल बनाउने योजना नै बनेको छैन । ती खोलामा पुरानो साँघुरो र जीर्ण पुल छन् ।

मेनरोडको तीन वटै खोलामा पुल निर्माणको लागि बजेट विनियोजन भए पनि सो रकमले नपुग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । बहुवर्षीय ठेक्का सहमति पाएमात्रै ति पुल निर्माणको योजना अगाडि बढ्न सक्ने पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुर्यप्रकाश जोशीले बताए । उनले कैलाली खोलामा ठूलै पुल बनाउनुपर्ने र सुकुटी खोला र सेतोपुल खोमा बक्स कल्भर्ट बनाउन सकिने बताए । तर बजेट विनियोजन भएपनि पुलको लागत स्टिमेट, ड्रइङ, डिजाइन गर्न बाँकी नै छ ।

शहीद गेट–क्याम्पस रोड सडकको पुल बनाउनका लागि न संघीय सहरी विकास कार्यालयले योजना बनाएको छ न त धनगढी उपमहानगरपालिकाले त्यस विषयमा चासो राखेको छ । चौडाई बढाएर सडक निर्माण गरिएकोले पुल पनि पुनः निर्माण गर्नै पर्ने भएको छ ।

मेनरोडलाई डबल लेनबाट फोर लेन बनाइएको छ भने शहीद गेट–क्याम्पस रोड सडकलाई कमनलेनबाट सडल लेन बनाइएको छ । संघीय आयोजना कार्यान्वयन ईकाईले एडिबिको सहयोगमा शहिद गेट–क्याम्पस रोड सडक बनाएको थियो । तर सो सडकमा परेको पुल बनाउने योजना समावेश नभएको हुँदा कैलाली खोला, सुकुटी नाला र सेतोपुल खोलामा रहेको पुल अपग्रेड गरिएको छैन । सहरी विकास कार्यालय धनगढीका ईञ्जिनियर शौरभ कलौनीले सहरी विकास कार्यालयको क्षेत्राधिकारभित्र पुल निर्माण नपर्ने भएको हुँदा त्यस्तो कुनै योजना नरहेको बताए ।

यसैगरी, प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयको ५१ करोड ६८ लाख ७८ हजार ६४१ रुपैयाँ खर्च गरेर कैलालीपुलदेखि क्याम्पस चोकसम्मको मेनरोडलाई चार लेन बनाएको छ । २.३ किलोमिटरको मेनरोडमा पर्ने कैलालीनाला, सुकुटी नाला र सेतोपुल खोलामा पुल निर्माणको योजना बनाइएको भएपनि कम विनियोजन भएकोले योजना कार्यान्वयन अन्यौलमै रहेको ईञ्जिनियर जोशीले बताए ।

कैलालीपुलदेखि क्याम्पस चोकसम्म कैलालीनाला, जिल्ला प्रहरी कार्यालयको छेउमा सुकुटी नाला र क्याम्पस चोक नजिक सेतोपुल खोला छ । यि खोला धेरै पहिले बनेको कमन लेनको पुल छ । जसले गर्दा चारलेन सडक हुइकिएर आएका सवारी साधन नालामा खस्ने वा ठोक्किने खतारा छ भने पुलकै कारणले सडक जाम हुने समस्या पनि बढ्दै गएको छ ।

उपमहानगरपालिकाको पहलमा कैलालीपुलदेखि क्याम्पस रोडसम्मका घरधनिहरुले सडक विस्तारका लागि आफ्नो घर आफै तोडेका थिए । सडक फराकिलो बनाउँदा धनगढीको मुहार फेरिएको भएपनि पुल नबनेकाले गर्दा ठाउँ ठाउँमा साँघुरो सडक छ । जसले पुरानै साँघुरो धनगढीलाई सम्झाउने गरेको छ ।

धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा पुर्वाधार विकास महाशाखा प्रमुख ईञ्जिनियर द्विजराज भट्टले ति खोलाहरुमा पुल निर्माणका लागि सडक निर्माणको लागि पहल गर्दा नै अनुरोध गरिएको बताए । सडक बनाउने सम्बन्धित कार्यालयहरुले नै ति पुलहरु निर्माण गर्नुपर्ने बताउँदै उनले अहिलेसम्म पुर्वाधार विकास कार्यालय र सहरी विकास कार्यालयले योजना, लागत अनुमान, पुलको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन बनाइसकेको हुनुपर्ने बताए ।

पुर्वाधार विकास कार्यालयले केएस कन्स्ट्रक्सन प्रालिलाई २०८२ बैशाख २६ गतेभित्रै निर्माण सम्पन्न गर्ने सर्तमा २०८० बैशाख २६ गते मेनरोडलाई चारलेनमा विस्तार गरी निर्माणको ठेक्का दिएको थियो ।

प्रतिक्रिया