कञ्चनपुर । बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् । चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको स्थानीयको भनाइ छ ।
हुस्सु र कुहिरोका कारण बिहानको समयमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । बस चालक राजेन्द्रबहादुर ऐरका अनुसार दृश्यता (भिजिबिलिटी) अत्यन्त कम हुने भएकाले सवारी चलाउन जोखिम बढेको छ ।
‘अगाडिदेखि नै गाह्रो हुन्छ, त्यसैले गति कम गरेर सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था छ’, उनले भने ।
चिसोका कारण बिहानै विद्यालय जाने बालबालिका कठ्याङ्ग्रिने गरेका छन्। बाक्लो कुहिरो र चिसो हावाले विद्यार्थीलाई विद्यालय जान समस्या भएको अभिभावकको गुनासो छ । हुस्सु र कुहिरोले किसानलाई पनि असर गरेको छ । खेतबारीमा लगाइएका तरकारी बालीमा डढुवाको प्रकोप देखिन थालेको किसानले बताएका छन् । लालझाडीका किसान रामप्यारा चौधरीका अनुसार आलु र गोलभेडाखेतीमा डढुवाको समस्या देखिन थालेको छ ।
उनले भने, ‘लगातार हुस्सु र चिस्यानका कारण बालीमा रोग फैलिन थालेको छ।’
चिसो बढेसँगै सर्वसाधारण बाक्लो लुगा नलगाइ बाहिर ननिस्कने अवस्था आएको छ । झलारीका स्थानीय रामबहादुर चुनाराका अनुसार अत्यधिक चिसोका कारण बिहान–साँझ घरबाहिर निस्कँदा बाक्लो लुगा लगाउनैपर्ने बाध्यता छ ।
स्वास्थ्य संस्थामा पनि चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दो छ ।
उनका अनुसार विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट बढी प्रभावित देखिएका छन्।
प्रतिक्रिया