धनगढी । गत मंसिर ९ गते कञ्चनपुरको भीमदत्त नगरपालिका– १४ बनकट्टीमा हात्तिको आक्रमणबाट स्थानीय ४५ वर्षीया धाना बिष्टको मृत्यु भयो । शुकल्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले कच्चि घर भत्काउने क्रममा सोही घरभित्री सुतिरहेको अवस्थामा बिष्टलाई आक्रमण गरेको थियो । हात्तिको आक्रमणबाट गम्भीर घाइते भएकी बिष्टको महाकाली प्रदेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हात्तिको आक्रमणबाट आम नागरिकले ज्यान गुमाएको यो पहिलो घटना होइन । ०८१ सालमा मात्रै कञ्चनपुरमा दुई जनाको हात्तिकले आक्रमण गर्दा मृत्यु भएको थियो ।
यस्तै, ०८१ चैत पहिलो साता कञ्चनपुरकै लालझाडी गाउँपालिका–४ पर्सियामा जंगली हात्ती मृरेको अवस्थामा फेला प¥यो । हात्तिको मृत्युको कारणबारे छानविन गर्दा वनको टोलीले विद्युतीय धरापमा परेर हात्ती मरेको पुष्टि ग¥यो । हात्ति मारेको आरोपमा स्थानीय ओमप्रकाश रानालाई पक्राउ गरियो । रानाले गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार राखिएको बयान दिए । उनीविरुद्व वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा मुद्धा चलाइयो । कञ्चनपुरमा हात्ति मरेको अवस्थामा फेला परेको घटना पनि पहिलो थिएन । ०८१ सालमै जिल्लामा तीन हात्ति मरेको अवस्थामा फेला परेका थिए ।
माथिका दुई घटनाले मानव र वन्यन्तुबीत बढ्दै गएको द्धन्द्ध दर्शाउँछ । नेपालको सबैभन्दा दक्षिण–पश्चिममा रहेको कञ्चनपुर जिल्ला आम नागरिकका लागि मात्रै नभएर वन्यजन्तुको बासस्थानका लागि पनि रोजाईमा पर्छ । जिल्लाको १३० किलोमिटर सीमा क्षेत्र त भारतसंग मात्रै जोडिएको छ । उक्त खुला सीमाना केवल दुवै देशका नागरिकका लागि मात्र होइन, सीमानजिक रहेका विभिन्न संरक्षण क्षेत्र तथा निकुञ्जमा बसोबास गर्ने वन्यजन्तुहरूका लागि पनि उपयोगी मानिन्छ । बसाइँसराइका लागि ती वन्यजन्तुले प्रयोग गर्ने थुप्रै मार्गहरु पनि छन्, कञ्चनपुरमा । तर, अधिकांश बन्यजन्तु बसाइँसराइका ती मार्गहरु मानव बस्तीले माँसिएका छन् । जसका कारण बढ्दै गएको छ, मानव र वन्यजन्तुबीच द्धन्द्ध ।
कञ्चनपुरको बेलौरी नगरपालिकाका इन्द्र भट्ट अहिलेको अवस्थामा वन्यजन्तु मानवबाट बढी असुरक्षित रहेको बताउँछन् । ‘पाँच प्रतिशत वन्यजन्तुबाट नागरिकलाई असुरक्षा छ, तर त्यसको पाँच गुणा बढी वन्यजन्तु मानवबाट असुरक्षित रहेका छन्,’ भट्टले भने, ‘घरघरमा भरुवा बन्दुक र सिकारी छन् । अर्कोतर्फ वनमा चरिचरण छैन । वन्यजन्तु त चौतर्फी रुपमा असुरक्षित भइरहेका छन् ।’ भट्ट मानवबाट वन्यजन्तुलाई कसरी जोगाउनेतर्फ पनि राज्यले ध्यान दिन आवश्यक रहेको बताउँछन् ।
लालझाडीका स्थानीय घुम्मर राना मानव र वन्यजन्तु दुबै एकअर्काबाट असुरक्षित बन्दै गएको बताउँछन् । ‘वन्यजन्तुको आवागमन हुने बाटोमा अहिले मानव बस्ती विस्तार भएका छन्,’ उनले भने, ‘जसका कारण वन्यजन्तुबाट मानव बस्ती असुरक्षित बनेको छ । अर्कोतर्फ खेतबारीमा लगाएको अन्न जोगाउनका लागि व्यक्तिहरुले वन्यजन्तु मार्न धराप धाप्ने गरेका छन् । यसले वन्यजन्तुलाई पनि असुरक्षा बढाएको छ ।’ अन्नबाली जोगाउन मात्रै नभएर वन्यजन्तुको अवैध व्यापारले चोरी सिकारी पनि बढेको उनी बताउँछन् ।
मानव र वन्यजन्तुलाई एकअर्काबाट नै असुरक्षा हुन थालेपछि पारिस्थितीक प्रणाली विकास र सहअस्तित्वका विषयमा पनि पछिल्लो समय बहस हुन थालेको छ । पूर्वसुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहेका वन संरक्षणकर्मी महेशदत्त जोशी मानव र वन्यजन्तुबीच पारिस्थितीक प्रणाली ठिक बनाएर सहअस्तित्व कामय गर्न आवश्यक रहेको बताउँछन् । ‘मान्छे पनि बच्ने र जनावरलाई पनि बचाउनपर्ने अहिलेको आवश्यकता हो,’ उनी भन्छन्, ‘वन्यजन्तु र वन वातावरण रहेन भने मानव जाती पनि रहन्न भन्ने ख्याल हामी सबैले राख्न आवश्यक छ ।’ मानव जातीका गतिविधिकै कारण मानव र वन्यजन्तुबीच द्धन्द्धको अवस्था सृजना भइरहेको उनी बताउँछन् । ‘अधिकांश वन्यजन्तुहरु कहिलेको भारतको दुधुवा नेशनल पार्क त कहिले यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाँडी करिडोर क्षेत्रमा बस्ने गरका छन्,’ उनले भने, ‘तर, वन्यजन्तुले आवागमन गर्ने कयौं मार्गमा अहिले बस्ती बसेको छ । जसका कारण ती बस्ती र वरपरको क्षेत्रमा धनजनको क्षति हुने गरेको छ ।’
बर्सेनि कञ्चनपुरमा हात्तिको आक्रमणबाट धनजनको क्षति हुनुमा पनि उनीहरुको परम्परागत बाटो मेटिनु नै रहेको संरक्षणकर्मीको तर्क छ । संरक्षकर्मीहरुका अनुसार हरेक वर्ष धेरै जंगली हात्तीहरू नेपाल–भारतबीच बसाइँ सार्ने गर्छन् । तर, मानव निर्मित संरचना, खेतीयोग्य क्षेत्र र तारबारका कारण हात्तिका पुराना मार्गहरू मासिँदै गएपछि हात्ती र मानवबीचको द्धन्द्ध बढ्दो छ । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार एउटा हात्तीले बच्चै बेलादेखि प्रयोग गरेको बाटो उसले वृद्धावस्थासम्म प्रयोग गर्छ । ‘खानेकुरा र खनिज कहाँ पाइन्छ भन्ने ज्ञान पनि उसको स्मरणमा रहन्छ,’ उनी भन्छन्, ‘तर, हात्तिको परम्परागत मार्गमा बस्ती विस्तार हुन थालेपछि द्धन्द्ध बढिरहेको छ ।’ वनमा चरिचरणको अभाव हुँदा पनि वन्यजन्तु बस्तीतर्फ लम्किरहेको उनी बताउँछन् । ‘चरिचरणको अभाव भएपछि हामीले वनमै फलफूलका बोट लगाउन सामुदायिक वनलाई प्रेरित गरेका छौं,’ उनले भने, ‘यो संसारमा मानव जातीकै जत्तिकै वन्यजन्तुलाई पनि बाच्ने अधिकार छ ।’
मानव–वन्यजन्तु द्धन्द्ध बढ्न थालेपछि अहिले कञ्चनपुरमा पारिस्थितीक प्रणालीमार्फत मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण परियोजना सञ्चालनमा छ । विश्व वन्यजन्तु कोष नेपाल (डब्लुडब्लुएफ नेपाल)को आर्थिक र प्राविधिक सहयोग र राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालको सहकार्यमा सन् २०२५ जुन २४ देखि सञ्चालनमा छ । यस परियोजनाको मुख्य उद्देश्य पश्चिमी नेपालको ब्रम्हदेव–लालझाडी परिसरमा जलवायुजन्य मानव–वन्यजन्तु द्वन्द्व कम गरेर जलवायु जोखिमको सामना गर्दै प्रकृति र मानिसबीच सद्भाव सिर्जना गर्ने हो ।
निड्सका कार्यक्रम संयोजक विनोदसिंह कडाराका अनुसार यसै परियोजनाअन्तर्गत मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धि जानकारीमुलक सन्देश र जलवायु परिवर्तनका सवालका विषयमा जनचेतना फैलाउने कार्य हुँदै आएको छ । ‘मानवको मात्रै नभएर वन्यजन्तुको पनि बाच्ने अधिकार उत्तिकै छ,’ उनले भने, ‘मानव–वन्यजन्तुको द्धन्द्ध न्यूनीकरण गर्नका लागि सामुदायिक वनका पदाधिकारी र सदस्यको क्षमता अभिवृद्धि र जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छौं । सामुहिक सहभागितामार्फत मानिस र वन्यजन्तु दुवैलाई फाइदा पुग्ने गरी दीर्घकालीन समाधान खोज्ने परियोजनाको लक्ष्य छ ।’
प्रतिक्रिया