ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

त्रिनगर भन्सार नाकाबाट चामल आयात फेरि बढ्यो

सोमबार ०७, पुष २०८२ १०:३५

धनगढी । त्रिनगर भन्सार नाकाबाट कोभिडपछि एका–एक घटेको चामल आयत फेरि बढेको छ ।

सुदूरपश्चिम प्रदेशको ठूलो भन्सार नाकाको रुपमा रहेको त्रिनगरबाट कोभिड अघिसम्म अर्बौ रुपैयाँको चामल आयात हुने गरेकोमा घटेर पाँच करोडमा पुगेको थियो भने फेरि बढेर अर्ब नजिक पुगेको छ । आर्थिक वर्ष २०७८।७९ पछि चामल आयात निरन्तर घट्दै गएकोमा गतआर्थिक वर्ष २०८१।८२ बाट फेरि बढ्न थालेको हो । २०८०।८१ मा सबै भन्दा कम ६१० टन मात्रै मसिनो चामल आयात भएकोमा गतवर्ष १३ हजार ५६ टन चामल आयात भएको छ भने चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म मात्रै चार हजार ६८४ टन चामल आयात भइसकेको छ ।

तथ्यांक अनुसार चालुआर्थिक वर्षको मंसिर मसान्तसम्म २९ करोड २३ लाख ४६ हजार ६३ रुपैयाँको चामल आयात भएको छ । गतवर्ष ९४ करोड ६२ लाख २१ हजार ६४९ रुपैयाँ, २०८०।८१ मा पाँच करोड ९३ लाख ८८ हजार ७०५ रुपैयाँ, २०७९।८० मा ४९ करोड ११ लाख १९ हजार ८७७ र २०७८।७९ मा एक अर्ब छ करोड ५६ लाख ४६ हजार १८५ रुपैयाँको चामल आयात भएको थियो ।

धनगढीमा चामल आपूर्ति व्यवसाय गरिरहेका लक्ष्मणराज पन्तले कोभिडपछि मसिनो चामलको माग घटेको भएपनि पछिल्लो समयमा मसिनो चामलको माग पुनः बढेको बताए । ‘विगतमा मसिनो चामलको माग घटेको थियो,’ उनले भने, ‘अहिले फेरि मसिनो चामल विक्री बढेको छ । मसिनो चामल नेपालमा उत्पादन नै नहुने भएकोले भारतबाटै ल्याउनुपर्छ । मोटो चामलको माग नेपालमा छैन । मोटो चामल अलिअलि बहाडतिर जान्छ । तराइँमा त मसिनो चामल मात्रै विक्री भइरहेको छ ।’

कोभिडपछि एक्कासी चामलको मुल्य आकाशिएको आय घटेको हुँदा मसिनो चामल खानेहरुले समेत मोटो चामल खान थालेका थिए । जसले गर्दा स्थानीयस्तरमा उत्पादन भएको मोटो चामलको खपत बढेको थियो भने भारतबाट चामल आयात पनि घटेको थियो । पछिल्लो समयमा चामलको बढेको मूल्य नघटेपनि मसिनो चामलको माग बढ्न थालेको छ ।

भन्सार कार्यालय कैलालीका अनुसार २०८०।८१ मा भारतबाट बासमति चामल आयात भएको थिएन भने २०८१।८२ बाट पुनः बासमती चामल आयात हुन थालेको छ । २०८१।८२ मा चार करोड ९७ लाख ५४ हजार २९८ रुपैयाँको ४०५ टन बासमती चामल आयात भएको थियो भने यसवर्षको पाँच महिनामा तीन करोड ६५ लाख ५३ हजार ५२ रुपैयाँको २७५ टन बासमती चामल आयात भइसकेको छ ।

आफ्नो देशमा मसिनो चामल उत्पादन नभएपनि मसिनो चामल नै बानीले गर्दा पुनः भारतबाट चामल आयात बढेको हो । तर, तराइँमा मोटो चामल खाने मानिसहरुले सोझै किसानबाट धान खरिद गर्ने गरेका छन् । कैलाली–कञ्चनपुरका किसानले आकाशे पानीको भरमा धानखेती गर्नुपर्ने र उपयु्क्त वर्षा नहुने भएकाले मोटो धान मात्रै उत्पादन गर्ने गरेका छन् ।

मोटो चामलको माग कम भएपनि उत्पादन बढी हुने भएकाले किसानले माटो धानको मुल्य समेत पाउन सकेका छैनन् भने मोटो धान विक्री गर्न समेत नसकिने अवस्था आएको छ । यसपाली कैलाली जिल्लामा तीन लाख आठ हजार ४३४ टन धान उत्पादन भएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २८.४४ हजार टन धान मात्रै खरिद गरेकाले धेरै किसानले धान विक्री गर्न पाएका छैनन् भने कतिपय किसानले सरकारले तोको समर्थन मुल्य भन्दा झण्डै एक हजार रुपैयाँ कममा विक्री गरिरहेका छन् ।

प्रतिक्रिया