धनगढी । नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमले चुनावी घोषणालाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त माग गरेको छ ।
चेम्बर अफ कमर्सले आइतबार अत्तरियामा पत्रकार सम्मेलन गरी समृद्ध सुदूरपश्चिम बनाउन लिखित प्रतिबद्धता व्यक्त गर्न अनुरोध गरेको हो । उम्मेदवारहरुको साझा प्रतिबद्धताका लागि चेम्बरले पाँच बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ ।
नेपाल चेम्बर आफ कमर्सका सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद मल्लले प्रदेशको विकासका लागि चेम्बरले तयार गरेको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न उम्मेदवारहरुलाई आव्हान गरे । उनले स्थानीय उत्पादन तथा आत्मनिर्भर अर्थतन्त्र, युवा रोजगारी, उद्यम तथा डिजिटल रूपान्तरण, स्वास्थ्य, शिक्षा तथा मानव पूँजी निर्माण, भौतिक पूर्वाधार तथा रणनीतिक पहुँच र पर्यटन खेलकुद संस्कृति तथा सामाजिक न्याय गरी पाँच बुँदा प्रतिबद्धता पत्र सार्वजनिक गरे ।
‘सुदूरपश्चिममै बनाउने, सुदूरपश्चिमकै लगाउने, सुदूरपश्चिममै उब्जाउने, सुदूरपश्चिमकै उपभोग गर्ने भन्ने मूलमन्त्र सहित तयार गरिएको यो दस्तावेज आगामी निर्वाचनमा सहभागी सम्पूर्ण उम्मेदवारहरूलाई हस्तान्तरण गरिदैछ,’ प्रतिवद्धता पत्रको प्रस्तावनामा भनिएको छ, ‘यसले सुदूरपश्चिमको आर्थिक, सामाजिक र मानवीय रूपान्तरणका लागि स्पष्ट नीति, प्राथमिकता र कार्यदिशा प्रस्तुत गर्दछ ।’
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट दल र स्वतन्त्र गरी २१० जना चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्ष मल्लले दलहरुलाई घोषणा पत्रलाई घोषणापत्रमा सीमित नराखी त्यसको कार्यान्वयन तर्फ उम्मेदवारहरु प्रतिबद्ध हुनुपर्ने बताए । उनले यो प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर उम्मेदवारहरुले आफ्नो घोषणा पत्र कार्यान्वयनलाई प्राथमिकता दिएको दिनुपर्ने बताए ।
प्रतिक्रिया