धनगढी । गणतन्त्रको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमालेका उम्मेदवार नारदमुनि रानाले आफ्नो घोषणा पत्रमा सेती प्रादेशिक अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्ने उल्लेख गरे । रानाले चुनाव पनि जिते । तर, स्तरोन्नतिको एजेण्डा कार्यान्वयनका लागि उनले पहलसमेत गरेनन् ।
विजयी भएपछि सेती अस्पतालबारे बोल्नै छोडेका थिए, रानाले । सोही निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ आरजु देउवा राणाले त सेती प्रादेशिक अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय नै भइसकेको दाबी गरिन् । त्यसबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । तर, उक्त निर्णय पनि कहिल्यै कार्यान्वयन भएन ।
०७९ सालमा गणतन्त्र नेपालको दोस्रो प्रतिनिधिसभाको निर्वाचन भयो । त्यसबेला पनि उम्मेदवारहरुले सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिको विषय चुनावी घोषणा पत्रमा प्राथमिकताका साथ राखे । माओवादी केन्द्रसंगको गठबन्धनमा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त र एमालेका उम्मेदवार नारदमुनि राना थिए । दुबै जनाले सेती प्रादेशिक अस्पतालको स्तरोन्नति गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गठबन्धन भएको हुँदा त्यसबेला राना हारे । करिब एक हजार बढी मत पाएर कांग्रेसका पन्त विजयी भए । तर, फेरि पनि सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिको विषय अगाडि बढेन ।
चुनाव जितेपछि सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजना बिर्से पनि हरेक चुनावमा यो गतिलो चुनावी एजेण्डा बनेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारमा जुटेका उम्मेदवारहरु पनि सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिको विषय पुनः जोडतोडका साथ उठाइरहेका छन् । कैलाली क्षेत्र नम्बर ५ को मनोनयन दर्ता भएदेखि नै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेम आलेले आफ्नो पहिलो एजेण्डा नै सेती प्रादेशिक अस्पताल स्तरोन्नति रहेको बताइरहेका छन् । उनले शुक्रबार वडा नम्बर १ को पार्टी सम्पर्क कार्यालय उद्घाटन गर्दै सेती प्रादेशिक अस्पतालको स्तरोन्नति, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नति गरेरै छाड्ने आफ्नो प्रण रहेको बताए ।
कैलाली क्षेत्र नम्बर ५ का कांग्रेस उम्मेदवार नरनारायण शाह, एमाले उम्मेदवार यज्ञराज ढुंगाना, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दले समेत सेती प्रादेशिक अस्पतालको स्तरोन्नतिको विषय यसपालीको घोषणा पत्रमा राख्ने तयारी गरेको उनीहरुको सचिवालयले जनाएका छन् ।
अस्पतालको स्तरोन्नति हुन नसक्दा अस्पतालको ओएनएम सर्भे समेत सुदूरपश्चिम प्रदेश सरकारले स्वीकृत गर्न सकेको छैन । उक्त सर्भे गरेर सामाजिक विकास मन्त्रालयले यसअघि नै मन्त्रीपरिषद्मा पेश गरिसकेको छ । वार्षिक एक लाखभन्दा बढी बिरामीको चाप रहेको सेती प्रादेशिक अस्पतालले बिरामीको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ ।
सोही कारण केही दिन अघि अस्पताल प्रशासनले सूचना प्रकाशन गरी मृगौलाका नयाँ विरामीलाई सेवा दिन नसक्ने जनाएको छ । अस्पतालमा भएको सुविधाले पुरानै विरामीलाई मात्रै सेवा दिन भ्याउने जनाएको छ । अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठ बिरामीको अत्यधिक चाप, स्रोतसाधन र ठाउँको अभावले सेवा दिन नसक्ने अवस्था आएको बताए । उनले अस्पतालमा २१ वटा मात्रै डायलाइसिसका उपकरण रहेको र उपकरण थप्नका लागि बजेट र ठाउँको अभाव रहेको बताए ।
२०३९ सालमा नेपाल सरकारबाट ५० शय्याको अनुमति पाएको सेती प्रादेशिक अस्पताल प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको छ । तर, ४३ वर्षदेखि ५० शय्याकै अस्पतालमा रुपमा सीमिति पारिएको छ । स्वीकृत शय्याका रुपमा सेती अस्पतालभन्दा ठुलो टीकापुर अस्पताल हो ।
प्रतिक्रिया