धनगढी । बाजुराको बुढीगंगाका सात कर्मचारी भ्रष्टाचार मुद्दा लागेसंगै निलम्बनमा परेका छन् । नगरपालिकाको प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेसंगै सात कर्मचारी निलम्बित भएका हुन् ।
अधिकृत छैटौं नरेन्द्र नाथ, सब–इन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी तथा प्रशासन सहायक बसन्तबहादुर थापा निलम्बनमा परेका हुन् । कर्मचारी निलम्बनसँगै नगरपालिकाको सेवा प्रवाह नै ठप्प भएको छ ।
कर्मचारी निलम्बनमा हुँदा शिक्षा, प्रशासन शाखासहित प्राविधिक फाँट बन्द भएको छ । एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतसमेत नहुँदा नगरपालिकाको सेवा प्रवाह ठप्प अवस्थामा छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत भेटनरी शाखा प्रमुख प्रेम जैशी भए पनि उनलाई आर्थिक अधिकारको जिम्मेवारी छैन ।
नगरपालिकाले यसअघि नै करार कर्मचारी हटाएको थियो । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पारित गरे पनि अहिले निर्वाचन आचारसंहिताका कारण कर्मचारी राख्न सक्ने अवस्था नहुँदा धेरैजसो कामकाज रोकिएको छ ।
प्रशासनिक भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अख्तियारले दायर गरेको आरोपपत्रमा तत्कालीन मेयर दीपकविक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जनसहित १४ जनासँग तीन करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो असुल उपर गरी कैद सजाय माग गरेको छ ।
याे पनि : बुढीगंगाको भवन निर्माणमा सवा तीन करोड भ्रष्टाचार, पूर्वमेयरसहित १४ जनाविरुद्व मुद्दा
प्रतिक्रिया