ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निजी क्षेत्रको मनोबल उठाउन राजनीतिक निकास पहिलो सर्त

सोमबार ०७, पुष २०८२ ०६:४८

धनगढी । जेनजी आन्दोलनका क्रममा जलेका सरकारी कार्यालयलले निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिकको व्यक्तिगत सहयोगमा खरानीबाट उठेर सेवा प्रवाह गरिरहेका छन् । देश राजनीतिक संकटमा रहेको बेला निजी क्षेत्रको मनोबल खस्किएको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले व्याज निरन्तर घटाइरहेको भएपनि कर्जा प्रबाह बृद्धि तथा उद्यममा लगानी बढ्न सकिरहेको छैन । जेनजी आन्दोलनले निजी क्षेत्रमा पारेको प्रभाव, अबको निकासको बाटो र लगानी बृद्धिका लागि सरकारले गर्नुपर्ने नीतिगत व्यवस्थाका विषयमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्करराज ओझासंग गरिएको कुराकानी प्रस्तुत छ । 

मुलुकमा गणतन्त्र आएको दुई दशक भएको छ । गणतान्त्रिक मुलुकको अर्थतन्त्रलाई कसरी हेर्नु भएको छ ?

गणतन्त्रपछि अर्थतन्त्र अझै खुकुलो हुन्छ । काम गर्न अझै सजिलो हुन्छ । धेरै राम्रो हुन्छ भन्ने निजी क्षेत्रले सोचेको छ । सुरुवाती दिनमा केही हदसम्म राम्रो पनि भयो । तर, जब कोभिड, त्यसपछि रसिया–युक्रेन युद्ध, आर्थिक मन्दी र युवाहरू विदेश पलायन हुँदा देशमा अहिले पनि मन्दी छ । बैंकको ब्याज ७–८ प्रतिशतबाट १३–१४ प्रतिशतसम्म बढेको थियो । यी सबै कारणले अर्थतन्त्र एकदमै जटिल मोडमा छ । अहिले पनि बैंकको खराब कर्जा बढ्दो छ भने व्यवसायीको अवस्था झन्–झन् खस्किँदो अवस्थामा छ । यसबाट पार पाउन हामी लबिइङमा छौं  ।

गत भदौ २३–२४ को जेनजी आन्दोलनलाई कसरी हेर्नुहुन्छ ? के यो एक्कासी घटेको घटना हो ? वा दशकौं देखिएको वेतिथि, भ्रष्टाचार, कुशासन, गरिवी, बेरोजगारीसँग जोडिएको छ ?

यो सरकार अहिले निर्वाचन गराउनका लागि मात्रै गठन भएको हो । नागरिक स्तरबाट गठन भएको अस्थायी सरकार हो । सरकारसँग हामीले उद्यमी व्यापारीले ऋण तिर्ने समय बढाइदिनुपर्छ भन्ने माग राखेका छौं । व्यापारीले ऋण तिर्दैनौं भनेका छैनौं । तिर्न थप समय चाहिएको मात्र हो । ऋण तिर्ने समयावधि बढाइदिए भने किस्ताको लोड घट्छ । पाँच वर्षमा तिर्नुपर्ने ऋणको अवधि १५ वर्षसम्म बनाइदियो भने सजिलो हुन्छ ।

जेनजी आन्दोलनले २४ घन्टामा सरकार नै परिवर्तन भयो । यो एक्कासि भने भएको होइन । पहिलेदेखि नै युवाले परिवर्तन चाहिरहेका थिए । तर, त्यही पुराना अनुहारले पटक–पटक त्यही गल्ती दोहोर्‍याइरहेका थिए । देशमा बेरोजगारी, सुशासन अभाव, जताजतै भ्रष्टाचारले लिप्त भएको थियो । यसविरुद्ध पहिलेदेखि नै आवाज उठिरहेको थियो । यस विषयमा उठाइएको आवाजले सोसलमिडिया भरिएको थियो । यो भएन भन्नासाथ शासकद्वारा क्रमशस् सोसल मिडियामा रोक लगाइयो । यसले गर्दा तानाशाही प्रवृत्तिले सीमा नाघ्यो ।

युवामा दशकौंदेखि रहँदै आएको तानाशाही शासनविरुद्धको आक्रोश विस्फोट भयो । नवयुवाले स्कुल कलेजका ड्रेसमै आएर आन्दोलन गरे । त्यो आवाज दबाउन गोली नै प्रहार गरियो । २०८२ भदौ २३ गते स्कुल ड्रेसमै रहेका कलिला युवालाई सरकारद्वारा मारियो । यो नै सबैभन्दा दुस्खद् घटना हो । देशकै इतिहासमा सबैभन्दा कालो दिन बन्यो, भदौ २३ । सोही कारण भदौ २४ को आन्दोलन उग्र बनेको हो । अघिल्लो दिनको शान्तिपूर्ण आन्दोलन दोस्रो दिन पनि भइरहँदा राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएर देशमा ठूलो क्षति हुने गरी विध्वंश भयो ।

जेनजी आन्दोलन हुनुमा सरकारमा बस्नेहरुको त दोष छ नै, निजी क्षेत्रको पनि कति दोष देख्नुहुन्छ ?

सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी संरचना जलाइयो । निजी सम्पत्तिमा लुटपाट र आगजनी गरियो । भाटभटेनी, होटललगायतका निजी उद्यम जलाइनु एकदमै दुस्खद् घटना हो । आन्दोलनमा जलाइएका संरचना हामीले नै मिहिनेत गरेर तिरेको करबाट बनेका हुन् । यसलाई पुनस् बनाउँदा जनतामाथि नै अभिभारा थपिने हो । यस किमिसको आन्दोलन हुनुमा सरकारमै रहेका व्यक्तिको नै दोष हो । व्यापार, व्यवसाय गरिरहेको निजी क्षेत्रको यो आन्दोलनमा कुनै दोष छैन । व्यापार व्यवसाय गर्न पाउनु सबै नागरिकको अधिकार हो ।

राज्य र उसको सेवा प्रवाहका विरुद्धमा उठेको जेनजी आन्दोलनमा निजी क्षेत्रमाथि पनि हमला हुनुलाई के भन्नुहुन्छ ?

आफ्नो पेसामा दैनिक ८-१० घन्टा काम सबैले गरिरहेका छन् भने व्यापारीले दिनेको सबैभन्दा बढी समय काम गरिरहेको हुन्छ । बिहान उठेदेखि नसुतेसम्म व्यापारीले काम गर्छ । सुतेको समयबाहेक १६–१८ घन्टा काम गर्छ । सबैभन्दा बढी काम गर्ने व्यापारीले तीनपुस्ते सम्पत्ति धितो राखेर ऋण लिएर काम गरिरहेको हुन्छ । तर, व्यापारमा ऊ सफल नै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । यो आन्दोलनमा व्यापारीको कुनै संलग्नता छैन । आन्दोलनले व्यापारीकै बढी क्षति भएको छ । व्यापारीलाई नै संकट परेको छ । यो घटनाले गर्दा व्यापारी घाटामा छन् ।

आन्दोलनका क्रममा लुटपाटको नियतले निजी क्षेत्रमा आक्रमण गरिएको छ । आन्दोलनको कुनै आँखा, कान हुँदैन र कता परिचालन भएको छ भन्ने पनि थाहा हुँदैन । यो आन्दोलनमा पनि त्यही भएको हो । आन्दोलनकै बहानामा कतिपय ज्यान मुद्दामा सजाय भोगिरहेका कैदी पनि जेलबाट बाहिर आएका छन् । आपराधिक मानसिकताका व्यक्ति र जेलका फरार कैदीको संलग्नताले आगजनी, तोडफोड र लुटपाट गरिएको छ । त्यसै किसिमका मानिसले निजी क्षेत्रमा पनि लुटपाट गर्ने उद्देश्यले नै आगजनी, तोडफोड र लुटपाट गरेका हुन् ।

यो आन्दोलनले मुलकको विकास र संमृद्धिलाई दशौं वर्ष पर धकेलेको छ ? यसबाट निजी क्षेत्र चाँही कति प्रभावित बनेको ठान्नुहुन्छ ?

यो आन्दोलनले निजी क्षेत्रमा ठूलो प्रभाव पारेको छ । अहिले निजी क्षेत्रको मनोबल घटेको अवस्था छ । निजी क्षेत्रले लगानी गर्न बनाएका योजना स्थगित गरेको छ । देशमा संक्रमणकाल सुरु भएको छ । कतिखेर कहाँ आन्दोलन हुने हो, कतिखेर कहाँ के हुने हो भन्ने निश्चितता छैन । निर्धारित समयमा चुनाव हुन्छ वा हुँदैन भन्ने कुरामा विश्वस्त हुने अवस्था छैन । निजी क्षेत्रले यो द्विविधाका बेला लगानी गर्न सकिरहेको छैन भने भएको बजार पनि चलायमान हुन सकिरहेको छैन । खरिद गर्नेहरूले पनि आफ्ना योजना स्थगित गरेका छन् ।

जस्तैस् कसैको घर बनाउनुपर्ने होला, इँटा किन्नुपर्ने, सिमेन्ट र छड किन्नुपर्ने होला । कसैले गाडी किन्नुपर्ने होला । निजी क्षेत्रका योजना रोकिएका छन् । यसले गर्दा निजी क्षेत्रमा यसको प्रत्यक्ष असर देखिएको छ । अहिले देश संक्रमणकालको जटिल मोडमा छ । यसबाट राजनीतिक निकास दिन जरुरी छ । राजनीतिक रुपमा निकास निकालियो भने मात्रै निजी क्षेत्रमा परेको असर र रोकावट हट्छ । यसका लागि मुख्य बाटो भनेकै समयमा चुनाव गराउनु हो । कुनै पनि कुरा लेख्दा, बोल्दा वा सामाजिक सन्जालका स्टाटस पोस्ट गर्दा, जुलुसरआन्दोलनमा सहभागी हुँदा हामीले एकपटक सोचेर मात्र अगाडि बढ्नुपर्छ ।

अहिले निजी क्षेत्रको मनोबल खस्केको अवस्था छ, लगानी थप्ने नथप्नेमा जताततै अन्यौल छ । यस्तोमा निजी क्षेत्र अब कसरी अगाडि बढनुपर्छ ? अबका दिनमा निजी क्षेत्रको ‘गोल’ को हो ?

हामीले गरेको दिशा निर्देशनमा देश अगाडि बढ्ने भएको हुँदा सबैले जवाफदेही र जिम्मेवार बनेर पाइला चाल्नु जरुरी छ । जे हुनु थियो भइसक्यो । अब सबै मिलेर समयमा चुनाव गराएर राजनीतिक निकास निकाल्न सकियो भने देश स्थिर भएर समृद्धिको बाटोमा अगाडि जान सक्छ । अन्यथा हामीले नै द्वन्द्व भड्काउने क्रियाकलाप गर्‍यौं भने समाजमा राम्रो म्यासेज जाँदैन । त्यसले गर्दा सबै जना संवेदनशील भएर अगाडि जानुपर्छ । आन्दोलनले सुदूरपश्चिमको निजी क्षेत्रमा खासै क्षति भएन । तीन वटा व्यापारिक प्रतिष्ठानमा ढुंगामुढा र आगजनी भएको छ । भाटभटेनी सुपरमार्केटमा ढुंगामुढा भएको छ, तर त्यहाँका स्थानीयले जोगाएर धेरै क्षति हुन दिएनन् ।

जलसा होटलमा सरकारी व्यक्तिको गाडी वा केही देखिएर ढुंगा हानिएको छ । टेम्पल रिसोर्टमा सरकारी कार्यक्रम चलिरहेको थियो । पार्किङमा ४र५ वटा सरकारी गाडी थिए । ती सरकारी गाडी जलाउँदा रिसोर्टका सिसा चर्केका छन् र जेनेरेटर जलेको छ । यसबाहेक निजी क्षेत्रमा त्यति धेरै क्षति भएन । सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्र, खासगरी कैलाली उद्योग वाणिज्य संघलगायतका संस्था र व्यापारिक प्रतिष्ठानको समाजमा सकारात्मक नजरिया छ । धनगढी विमानस्थल बनाउनेदेखि लिएर पूर्वाधार विकास, पर्यटनको सम्भावना उजागर गर्ने क्रममा कैलाली उद्योग वाणिज्य संघ अभिभावकको भूमिकामा रह्यो ।

तपाइँले भने जस्तै कैलालीमा निजी क्षेत्रमा खासै आक्रमण भएन । यसलाई तपाइँले कसरी लिनु भएको छ ?

सामाजिक विकास र निर्माणमा उद्योग वाणिज्य संघ सक्रिय भएर लागेकाले यस क्षेत्रका व्यक्तिको निजी क्षेत्रलाई हेर्ने दृष्टि सम्मानजनक भएको हुँदा आन्दोलनबाट निजी क्षेत्रमा धेरै क्षति नभएको मैले ठानेको छु । सरकारी कार्यालयमा भएको क्षतिका विषयमा तत्काल हामीले प्रमुख जिल्ला अधिकारीसँग बैठक गर्‍यौं । उहाँको निवासदेखि लिएर कार्यालय सबै जले । हामीले जिल्ला प्रशासनको सेवा कम्तीमा चल्नुपर्ने एवं नागरिकले तत्काल सेवा पाउनुपर्छ भनेर कम्प्युटर र प्रिन्टर सहयोग गर्‍यौं । अरू संघ–संस्थाले पनि सहयोग गरे । केहीले व्यक्तिगत रूपमा पनि सहयोग गरे ।

कैलालीमा निजी क्षेत्रले सरकारलाई खरानीबाट उठ्न मद्दत गरेको देखिन्छ । उद्योग वाणिज्य संघले के भूमिका निर्वाह गरेको छ ?

यसले गर्दा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता र सिफारिस दिने काम तत्कालै सुरु भयो । आन्तरिक राजस्व कार्यालय र जिल्ला भन्सार कार्यालयमा पनि सहयोग गर्‍यौं । घटना भइसकेपछि पूर्ववत् जनजीवनमा फर्कन हामीले पहल गर्‍यौं । निजी क्षेत्रको करबिना देश चल्न सक्दैन । निजी क्षेत्रले देशको रोजगारीमा ८० प्रतिशत योगदान गरेको छ । सरकारी रोजगारीको योगदान २० प्रतिशत मात्रै छ । तर, निजी क्षेत्रले त्यो स्तरको सम्मान कहीँ पनि पाएको देखिँदैन । व्यवसायीलाई कालोबजार र चोर भन्ने दृष्टि बढी छ । ब्याज तिर्न नसकेपछि व्यवसाय डुब्दा सरकारबाट बचाउने काम कहीँबाट देखिँदैन ।

व्यवहारमा नदेखिए पनि सरकारले सधै निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको भन्दै आएको छ । अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रले सरकारबाट कस्तो सहयोगको अपेक्षा राखेको छ ?

चन्दा आवश्यक भए राजनीतिक दललाई निजी क्षेत्र चाहिने, विद्यार्थीलाई निजी क्षेत्र चाहिने र सरकारी संरचना चल्दा पनि निजी क्षेत्र चाहिने तर निजी क्षेत्रलाई समस्या पर्दा कोही पनि अगाडि नआउने प्रवृत्ति छ । बरु यस्ता किसिमको आन्दोलन हुँदा निजी क्षेत्रको सम्पत्तिमा ढुंगा हान्ने, जलाउने र लुटपाट गर्नेलगायतको क्षति पुर्‍याइन्छ । यो एकदमै लज्जास्पद छ । यसले गर्दा भित्रैबाट सुधार हुन आवश्यक छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण राज्यले त्यो स्तरको बनाइदिनुपर्छ । यसले गर्दा निजी क्षेत्रमा काम गर्न मानिसलाई हौसला मिलोस् र सम्मानका साथ काम गर्ने वातावरण बनोस् ।

सरकारबाहेक नेपाल राष्ट्र बैंक, बीमालगायतका अन्य सरकारी निकायहरुबाट निजी क्षेत्रले केही सहुलियतका प्याकेजहरुको अपेक्षा राखेको छ ?

निजी क्षेत्रलाई सुरक्षित बनाउने गरी बीमा राष्ट्र बैंक र सीमा संस्थानले नीति बनाउनुपर्छ । व्यवसायीले लगानी लगाउने र आफ्नो काम गर्ने कुरा त छँदै छ । बिजनेस बीमा गर्दा कुनै क्षति भयो भने काटेर आउँछ । तर, २ करोडको बीमामा आधी रकम मात्रै आयो भने त्यसले अप्ठेरो गर्छ । ७–८ प्रतिशत ब्याजमा लिएको ऋणको व्याज १३–१४ प्रतिशत पुर्‍याउँदा पनि राष्ट्र बैंकले अंकुश लगाएन । हामीले सिंगल डिजिटमा ब्याजदर हुनुपर्छ भनेर आन्दोलन गर्नपर्यो । अहिले ६ प्रतिशतमा व्याजदर झरेको भएपनि व्यवसायीले ऋण लिएर लगानी गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा सरकारले व्यवसायीको भविष्य बनाउने खाले प्याकेज ल्याइदियो भने सजिलो हुन्छ । कुनै बिजनेस घाटामा गयो र सञ्चालकले स्वघोषणा गरे भने तिनको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै त्यस बिजनेसको बाँकी दायित्व सरकारले दिने गरी प्याकेज आउनुपर्छ ।

किनभने, त्यसअगाडि त उसले राज्यलाई कर तिरेको हुन्छ । विदेशमा यो व्यवस्था भए पनि नेपालमा छैन । समाजमा उसलाई हेयको दृष्टिले हेरिन्छ । यस्तो समस्या समाधान गर्न सक्ने राज्यले नीति ल्याउनुपर्छ । सुशासनको कमी, बेथिति र भ्रष्टाचारका कारणले अर्थतन्त्रमा अहिलेको समस्या आएको हो । यसैका विरुद्ध र सामाजिक सञ्जालमा रोक लगाएर निरंकुश शासन गर्न खोजेको कारणले जेनजी आन्दोलन भएको हो । यसबाट पाठ सिकेर आगामी दिनमा हामी सबैले सच्चिन जरुरी छ । युवा भावनालाई शासकले बुझ्नुपर्छ ।

जेनजी आन्दोलनले सरकार र निजी क्षेत्रलाई कस्तो पाठ सिकाएको छ ? आगामी दिनमा यस्ता आन्दोलन हुन नदिन सरकार र निजी क्षेत्रले कसरी काम गर्नुपर्छ भन्ने सोच्नु हुन्छ ?

अहिलेको एआई र च्याट जीपीटीको युगमा रहेको नवयुवा पुस्ता एवं पहिलेदेखि राजनीति अनि राज्यसत्ता चलाउँदै आएका पुस्ताको सोच र प्रवृत्ति मिल्दैन । अहिलेका युवा कुन मनोवृत्तिबाट सञ्चालन भइरहेका छन् भन्ने कुरा राजनीति गरिरहेका र राज्यसत्ता चलाइरहेकाले बुझ्न जरुरी छ । यसले गर्दा युवा विदेश पलायन भइरहेका छन् । देशमा बेरोजगारी छ । यी सबै कुरालाई एडजस्ट गर्न सक्ने गरी राज्यसत्तामा रहेकाले योजना बनाएर समाधान गर्नुपर्छ ।

घरदेखि नै राजनीति बाहेक विकास निर्माणमा चासो नदिने प्रवृत्तिले देश विकास भइरहेको छैन । अहिले पनि काठमाडौंबाट मुग्लिन आउने बाटो २५-२६ पटक प्रधानमन्त्री फेरिँदा पनि बन्न सकेको छैन । यस्तै किसिमको निराशाका कारण देश द्वन्द्वमा धकेलिएको छ । अहिले सबैलाई सच्चिने मौका मिलेको छ । सबै जना सच्चिएर एकजुट भई देश विकासमा अगाडि बढ्नुपर्छ । ८–१० वर्षकै छोटो अवधिमा मुलुकमा समृद्धि ल्याउनुपर्छ भन्ने यो दबाब पनि हो । त्यसका लागि सबै मानसिक रूपमा तयार भएर अबको निर्वाचनमा सहभागी हुनुपर्छ ।
 

प्रतिक्रिया