धनगढी । कैलालीको चुरे तटीय क्षेत्रको मछली खोलामा व्यापक मात्रामा नदीजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी भइरहेको छ । गोदावरी नगरपालिका– १२ मछली खोला क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी भइरहेको हो । मछली खोला क्षेत्र चुरे तटीय क्षेत्र हो । त्यहाँबाट नियमविपरीत ढुुंगा, गिट्टी, बालुुवालगायत नदीजन्य पदार्थ उत्खनन् तथा संकलन निषेध छ ।
तर, गोदावरी नगरपालिकाका पदाधिकारी, ठेकेदार कम्पनी, त्यस क्षेत्रको वडाका पदाधिकारीको संलग्नतामा अवैध निकासी भइरहेको हो । चुरे तटीय क्षेत्रको मछली खोला क्षेत्रबाट दैनिक दर्जनौ ट्याक्टरहरु निर्वाध ढंगले ढुुंगा, बालुवा संकलन तथा ओसारपसार गरिरहेका छन् । मछली खोलामा महाकाली सिंचाई प्रणालीको बाँध पनि छ । बाँध क्षेत्र पनि ढुंगा, गिट्टि, बालुवा उत्खनन् गर्न निषेधित क्षेत्र हो । तर, त्यहाँबाट निर्वाध रुपमा ढुुंगा, बालुवा उत्खनन् तथा ओसारपसार भइरहको छ ।
सोनी कन्सट्रक्सन कम्पनीले गोदावरी नगरपालिकाको नामको राजश्व संकलनको रसिद प्रयोग गरेर ढुंगा, गिट्टि, वालुुवा उत्खनन्, संकलन तथा ओसारपसार गराइरहेको छ । कम्पनीले मछली खोला क्षेत्रबाट प्रति ट्याकटर तीन सय रुपैयाँ गोदावरी नगरपालिकाको रसिदमा राजश्व लिएर अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गरिरहेको छ ।
नगरपालिकाले मछली खोला क्षेत्रमा नदीजन्य पदार्थ संकलन तथा निकासीका लागि कुनै ठेक्का सम्झौता गरेको छैन । नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने गोदावरी, खैराला र खुटिया नदीबाट मात्र नदीजन्य पदार्थ संकलन तथा ओसारपसार गर्ने ठेक्का गरेको छ ।
अनुुगमन समिति संयोजकसमेत रहेकी नगरपालिकाकी उपप्रमुख शारदादेवी रोकायाले मछली खोलाबाट नदीजन्य पदार्थ संकनल भइरहेको कुनै जानकारी नभएको बताइन् । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले मछली खोला क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा ओसारपसारका लागि वातावरणीय अध्ययनसमेत नभएको बताए । नगरप्रमुख बिरेन्द्र भट्टले पनि मछली खोलाबाट नदीजन्य पदार्थ उत्खनन् भइरहेको कुनै जानकारी नभएको बताए ।
गोदावरी नगरपालिकाले ०८१ कार्तिक १२ गते सोनी कन्सट्रक्सन कृष्णपुर– २ कञ्चनपुरसंग दुई करोड २८ लाख ५० हजार एक रुपैयामा ०८१÷०८२ का लागि गोदावरी खोलामा नदीजन्य पदार्थ तोकिएको परिमाणमा मात्र संकलन गर्नका लागि नगरपालिकाले सम्झौता गरेको छ । तर उसले सम्झौताको क्षेत्रविपरीत मछली खोला र रातोपानी क्षेत्रबाट पनि निर्वाध नदीजन्य पदार्थ संकलन गरिरहेको हो ।
प्रतिक्रिया