धनगढी । कैलालीको धनगढीमा हरेक बिहान उपमहाननगर कार्यालयका कामकाजले आफ्नो नियमित लय समातिसकेको हुन्छ । यही लयको केन्द्रमा छन्– उपमहानगर प्रमुख गोपाल हमाल । स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेर मेयर बनेका हमालले आफ्नो काममार्फत छोटो समयमै आम धनगढीवासी मात्रै होइन, देशकै ध्यान तानेका छन् । उनका कतिपय निर्णय विवादमा पनि तानिएका छन् । आलोचना र विरोध गर्नेहरु पनि छन् । तर, हमालको काम र नतिजाले भरोसा जगाएको धारणा प्रकट गर्नेहरुको संख्या तुलनात्मक रुपमा धेरै देखिन्छ ।
यतिबेला देशको राजनीति तीब्र धु्रविकरणतर्फ उन्मुख छ । यही सन्दर्भमा एउटा प्रश्न धनगढीका चोकचौतारीदेखि केन्द्रीय राजनीतिक बृत्तमा सुनिन्छ– धनगढीका ‘लोकप्रिय मेयर गोपाल हमाल’ कुन राजनीतिक बाटो रोज्दैछन् ? आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा उनी स्वतन्त्र नै रहन्छन् वा कुनै दलसँग सहकार्य वा समाहित हुन्छन् ? यो विषय स्थानीय मात्र होइन, काठमाडौंको पनि चासोमा छ । किनकि सुदूरपश्चिमको राजधानी रहेको धनगढीमा कुनै पनि उम्मेदवारले जित्न हमालको समर्थन मुख्य आधार हुने बुझाइ व्यापक छ ।
सुदूरपश्चिमको एकमात्र उपमहानगर, प्रदेशको राजधानी र प्रमुख व्यापारिक केन्द्र धनगढीबाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी हमाल राजनीतिक सक्रियताबाट आफूलाई टाढा राख्नुभित्र गहिरो अर्थ लुकेको अनुमान धेरैको छ ।
गत स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौंका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । धरानका मेयर हर्क साम्पाङले आफैले पार्र्टी गठन गरेर आसन्न प्रतिनिधिसभाको निर्वाचनमा अघि बढिसकेका छन् । तर धनगढीका मेयर हमाल भने अहिलेसम्म सार्वजनिक राजनीतिक टिप्पणीबाट प्रायः टाढै देखिन्छन् । हमालको यही मौनताले अनेक अनुमानलाई झनै मलजल गरेको छ ।
कतिपयले उनी पुराना दलमध्ये कुनै एकबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने अड्कल काटिरहेका छन् । कतिपय नयाँ दलमा प्रवेश गर्ने छन् भन्ने अनुमान गर्छन् । अर्कोतिर उनी कुनै पनि दलमा नगएर स्वतन्त्र नै रहन सक्छन् भन्ने बुझाई राख्नेहरु पनि छन् ।
नयाँ र पुराना राजनीतिक दल तथा नेताहरुले हमालसँग विभिन्न चरणमा संवाद र छलफलका प्रयास गरिरहेकै पनि छन् । धेरैले उनलाई आफ्नो धारतर्फ तान्न चाहेका छन् । तर, हमाल भने कुनै जवाफ नदिएको बताउ“छन् । ‘अहिले म कुनै राजनीतिक प्रतिक्रिया दिन चाहन्न,’ उनी भन्छन् ।
तर उनी अहिलेको राजनीतिक संस्कृतिप्रति सन्तुष्ट भने देखिँदैनन् । ‘सबैलाई पदकै तछाडमछाड छ,’ उनको गुनासो छ, ‘जनताको सेवा र विकासप्रतिको प्रतिबद्धता ओझेलमा परेको देख्छु ।’ यही कारणले पनि आसन्न निर्वाचनमा उनको धारणा, समर्थन वा मौनताले समेत ठुलो अर्थ राख्ने देखिन्छ । तथापि, हालसम्मका संकेतले उनी तत्काल कुनै राजनीतिक दलमा हाम फाल्ने मनस्थितिमा नरहेको देखाउँछ । हमाल आफू धनगढीको नगरप्रमुखका रुपमा पाँच वर्षे कार्यकाल इमानदारीपूर्वक पूरा गर्ने मनस्थितिमा देखिन्छन् । नगरप्रमुखको जिम्मेवारीमा आएदेखि आफू जनसेवामै समर्पित रहेको दाबी गर्दै हमाल विकृत राजनीतिलाई समाजका असल व्यक्तिहरूले मिलेर चिर्नुपर्ने आवश्यकता औँल्याउँछन् । उनी प्राथमिकता सधैं सुदूरपश्चिमको विकास नै रहेको दोहो¥याइरहन्छन् ।
‘सुदूरपश्चिमलाई सधैं अभाव र विपन्नताको दृष्टिले मात्र हेरियो,’ उनी भन्छन्, ‘तर यहाँका सम्भावना र अवसरबारे पर्याप्त चर्चा र उपयोग भएन ।’ उनले पुसे पन्ध्रौंका दिन सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा भिडियोले फेरि बहसलाई तताएको मात्र होइन, उनको राजनीतिक दृष्टिकोण पनि झल्काएको छ । भिडियोमार्फत उनले आगामी निर्वाचनमा उम्मेदवार भएर मत माग्न आउने नेता र राजनीतिक दललाई सुदूरपश्चिमको गरिबी न्यूनीकरणका लागि स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रोडम्याप माग्न आग्रह गरेका छन् । त्यो सन्देश केवल नागरिक अपिल मात्र थिएन, राजनीतिक दृष्टिकोणको संकेत पनि थियो ।
अन्ततः प्रश्न उहीँ छ—गोपाल हमाल कुन बाटो रोज्छन् ? उत्तर अझै खुलिसकेको छैन । तर उनको मौनता, धनगढीकै काम र विकास निर्माणप्रतिको जोड र सुदूरपश्चिम केन्द्रित दृष्टिले एउटा संकेत भने स्पष्ट छ– उनको राजनीति, पार्टीभन्दा पनि उद्देश्यतर्फ उन्मुख देखिन्छ ।
प्रतिक्रिया