धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाका पूर्वमेयर दीपकविक्रम शाहसहित १४ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । १४ जनासंगै कैलाली धनगढीको जाग्रिति/एमके/नेपाल जेभीविरुद्व पनि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको प्रशासनीक भवन निर्माण गर्न तीन करोड बजेट विनियोजन गर्दै १२ करोड २४ लाख ८१ हजार ३८७ रुपैयाँमा बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गरेको थियो । बोलपत्र मूल्यांकन समितिले गरेको सिफारिसको आधारमा नौ करोड ९४ लाख ५१ हजार ३६९ रुपैयाँमा जाग्रिति/एमके/नेपाल जेभीको बोलपत्र स्वीकृति गरिएको थियो । उक्त निर्माण व्यवसायीसँग मिलोमतो गर्दै देशमा कतै नभएको योग्यताको आधार लिएर ठेक्का सम्झौता गरिएको आरोप अख्तियारको छ । न्यूनतम कबोल गर्ने बोलपत्रदाताको कबोल अंकको अन्तर तीन करोड २७ लाख ७८ हजार १७० रुपैयाँ हिनामिना भएको अख्तियारले जनाएको छ ।
उक्त हिनामिनामा तत्कालीन नगर प्रमुख शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सवइन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सबइन्जिनियर भिमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, प्रशासन सहायक बसन्तबहादुर थापा, ना.प्रा.स. सिद्धराज जैसी तथा जाग्रिति÷एम.के÷नेपाल जेभी धनगढीको मिलोमतो रहेको अख्तियारले जनाएको छ । तीन करोड २७ लाख ७८ हजार १७० रुपैयाँ जनही बिगो कायम गर्दै आरोपपत्र दायर गरिएको हो ।
प्रतिक्रिया